नेपाल विद्यार्थी संघ अध्यक्षमा प्रेम शाहीको दाबी
काठमाडौं – नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षमा प्रेम शाहीले दाबी प्रस्तुत गरेका छन्। विभिन्न पदमा बसेर काम गरिसकेका शाहीले आफू नेतृत्व सम्हाल्नका लागि सक्षम र योग्य रहेका भन्दै अध्यक्षमा दाबी प्रस्तुत गरेको बताए।
फागनु ३ गतेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले म्याद सकिएका १० वटा भ्रातृ संस्था भंग गरेको थियो। फागुन मसान्तसम्ममा सबै भ्रातृ संघको तदर्थ कमिटी गठन गर्ने निर्णयसमेत कांग्रेसले गरेको छ।
पार्टीले दिएको समय सकिनै लाग्दा नेतृत्वको लागि दौडधुप सुरु भएको छ। नेविसंघ विधानअनुसार ३२ वर्षको उमेर हद लागु हुने कांग्रेसले जनाएको छ।
दैलेखमा जन्मिएका शाही राजनीतिक वातावरण हुर्किएका हुन्। उनले विद्यालय जीवनदेखि नै नेविसंघमा रहेर काम गरेका छन्। उच्च शिक्षाका लागि काठमाडौं झरेका शाही २०६३ सालमा नेविसंघ पशुपति बहुमुखी क्याम्पसको उच्च माविको अध्यक्ष, इकाई सदस्य, संगठन विभाग प्रमुख, इकाइ सचिव, ११ औं महाधिवेशनमा देशभरको सामुदायिक क्याम्पसतर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएर काम गरिसकेका छन्।
‘शैक्षिक मुद्दामा विशेष केन्द्रित रहेर सामाजिक दायित्वलाई बहन गर्ने छु। आउने तदर्थ समितिको विशेष जिम्मेवारी १२ औं महाधिवेशन गर्नु हो’, शाही भन्छन्, ‘१२ औं महाधिवेशन समयमै सम्पन्न गर्नेमा केन्द्रित भएर विध्यार्थी आन्दोलन, शैक्षिक मुद्दाको साथसाथै सामाजिक दायित्व, आर्थिक र राजनीतिक मुद्दालाई बुलन्दरुपमा उठाउनसक्ने नेविसंघ निर्माण गर्नको लागि मैले अध्यक्षमा दाबी गरेको हुँ।’
