देशभर अप्रत्याशित बढ्यो तापक्रम
काठमाडौँ । देशभरकै तापक्रम अहिले सरदरभन्दा बढी रहेको र तातो हावा चल्ने जोखिम बढेको चेतावनी विज्ञले दिएका छन्। पछिल्लो केही दिनयता देशभर नै लगातार तापक्रम बढ्दो क्रममा देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागअन्तर्गतको हावापानी विश्लेषण शाखाकी सिनियर डिभिजनल मेटेरोलोजिष्ट डा इन्दिरा कँडेलका अनुसार पूर्वी नेपालका धरान, ओखलढुंगासहितका स्थानको अधिकतम तापक्रम पछिल्ला केही दिनमा सरदरभन्दा पाँच डिग्री सेसिल्सयसमाथि देखिएको छ।
डा कँडेलले भनिन्, ‘देशका अधिकांश स्थानमा यो वर्ष मार्च लागेदेखिकै अधिकतम र न्यूनतम तापक्रम सरदरभन्दा माथि रेकर्ड भएको छ। देशका अधिकांश क्षेत्रको तापक्रम सरदरभन्दा दुई डिग्री सेल्सियस माथि देखिएकाले गर्मी बढी भएको हो।’
प्रि–मनसुनको अवधि भए पनि वर्षा नभएको र मौसमी प्रणाली पनि लगातार तापक्रम बढ्ने खालको भएकाले पछिल्लो केही दिनमा विगतको तुलनामा तापक्रम बढी मापन भएको डा कँडेलले जानकारी दिइन्।
त्रिभुवन विश्वविद्यालयअन्तर्गतको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा विनोद पोखरेलका अनुसार अहिले सामान्यभन्दा बढी तापक्रम मापन भइरहेको र यो मौसमी प्रणालीकै कारण भए पनि सामान्यभन्दा भिन्न देखिएको छ। ‘यो समय हावाहुरी लाग्नुपर्ने हो, त्यो भएको छैन। पानी पनि परेको छैन’, डा पोखरेलले भने, ‘यसले तातो हावाको जोखिम बढेको छ।’
लगातार मौसमी गतिविधिको अनुगमन तथा अध्ययन गरिरहेका डा पोखरेलका अनुसार अहिले उच्च चापीय प्रणालीको प्रभाव बढी देखिएको छ। ‘वायुमण्डलको माथिल्लो तहमा भएको चापले फरक पारेको छ। पाकिस्तान, अफगानिस्तान हुँदै उत्तर–पश्चिम भारतको क्षेत्रमा उच्च चापीय प्रणालीका कारण ‘अपर लेभल रिज’ (डाँडाको टुप्पो जस्तो) प्रणाली बसेको उनले बताए। त्यसले गर्दा हावा तल आइरहेको र तातो भएको उनले जानकारी दिए।
