गठबन्धन र चुनाव फरकफरक कुरा हो: उपसभापति गुरूङ
नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले सरकार बनाउनका लागि बनेको गठबन्धन र आउँदो चुनाव फरक-फरक विषय हुन् भन्ने कुरा नेताहरूले गहिरोसँग बुझ्न जरूरी रहेको बताएका छन्।
कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाबीच सहकार्य भई गत असारमा शेरबहादुर देउवा प्रधानमन्त्री बनेका थिए।
सत्तारूढ पाँचदलीय यो गठबन्धनलाई ०७९ वैशाख ३० मा हुने स्थानीय तह र त्यसपछिका प्रदेश तथा संघका चुनावमा पनि सँगसँगै लैजानुपर्ने र लैजान नहुनेमा दलहरूभित्र बिबाद छ।
कांग्रेसभित्र पनि सभापति देउवा गठबन्धन गरेर जान सकिनेमा छन् तर उपसभापति गुरूङलगायत नेता शेखर कोइराला पक्षका नेताहरू गठबन्धनका पक्षमा छैनन्।
कांग्रेसले अरू दलसँग तालमेल गर्ने वा नगर्नेबारे औपचारिक निर्णय गरेको छैन। कांग्रेसका नेताहरूले विभिन्न मन्चबाट फरकफरक कुरा गरिरहेका छन्।
कांग्रेसबाट भिन्नभिन्न कुरा आउँदा सत्तासाझेदार माओवादी केन्द्रका नेता वर्षमान पुनले भने कांग्रेसमा सत्ताको उन्माद देखिएको टिप्पणी गरेका छन्।
आफूहरूले सडकबाट कांग्रेसलाई सत्तामा पुर्याएको जिकीर गर्दै पुनले बुटवलमा बिहीबार कांग्रेसका केही नेतामा उन्माद देखिएको भन्दै आक्रोश पोखेका थिए।
‘पाँच वर्षका लागि सडकमा पुगेको कांग्रेसलाई बुई चढाएर हामीले सत्तामा पुर्याएका हौं। आज केही कांग्रेस नेतामा सत्ता उन्माद देखिएको छ’, उनले भनेका थिए, ‘कांग्रेसका केही नेताले माओवादी केन्द्र र सत्ता गठबन्धनमा सहभागी दललाई हेप्ने, अपमान गर्ने र सार्वजनिक टिप्पणी गर्ने गरेका छन्। हामी सरकार बनाउन सक्छौं, भत्काउन पनि सक्छौं। सडककालाई सत्तामा र सत्ताका लागि सडकमा पुर्याउने ताकत हामीसँग छ। यो कांग्रेस नेताहरुले बुझ्न जरुरी छ।’
माओवादी नेता पुनको यो अभिव्यक्तिलाई आफूले कुनै टिप्पणी गर्न नचाहेको कांग्रेस उपसभापति गुरूङ बताउँछन्।
‘कसैको बोलीको बारेमा टिकाटिप्पणी गर्न चाहन्न। त्यो राम्रो पनि हुन्न,’ सेतोपाटीसँगको कुराकानीमा गुरूङले भने, ‘अर्को कुरा, सरकार भनेको गठबन्धनबाट बनेको हो। सरकार एउटा पक्ष र चुनाव अर्को पक्ष हो भन्ने कुरा सबै पार्टीका नेताहरूले गम्भीर भएर बुझ्न आवश्यक छ।’
कांग्रेसले स्थानीय चुनावमा अरू दलसँग तालमेल गर्छ या गर्दैन भन्ने निर्क्यौल अब बस्ने केन्द्रीय समितिको बैठकबाट तय गरिने उनले बताए।
‘यो महिनाभित्र केन्द्रीय समिति बैठक बस्छ। त्यो बैठकमा चुनावी तालमेलबारे गहिरोसँग छलफल गरेर निर्णयमा पुग्छौं,’ उनले भने, ‘मुलुकलाई फाइदा हुन्छ कि घाटा भन्नेबारे राम्रोसँग अध्ययन गर्छौं। कांग्रेसलाई तत्काल फाइदा हुन्छ त्यसकारण गठबन्धन भन्ने होइन। हार र जित त भइरहन्छ। संविधानसभा निर्वाचनमा पनि कांग्रेस हार्छ भन्ने थाहा हुँदाहुँदै चुनाव गरिएको हो, कांग्रेसले मुलुकको हित हेर्छ, पार्टीलाई फाइदा हुने कुरा तपशीलमा राख्छौं।’
उनले गठबन्धन गर्दा फाइदा हुन्छ भन्ने मानसिकताले केही दलका नेताहरूले हिसाबकिताब गर्ने गरेको आरोप लगाए।
‘गठबन्धन गरेर फाइदा हुन्छ भन्ने हिसाबकिताब गर्ने संस्कार बस्न थालेको छ कुनै पार्टीका नेताहरूमा भने त्यो मनस्थितिबाट हामी प्रभावित हुन हुँदैन,’ उपसभापति गुरूङले भने।
