विद्यालय नर्स कार्यक्रम प्रभावकारी बन्दै
सुर्खेत । विद्यालय नर्स कार्यक्रम प्रभावकारी बन्दै गएको छ । स्वास्थ्य परीक्षण, सरसफाई तथा स्वास्थ्य शिक्षा सम्बन्धी जानकारी, पोषणको बारेमा जानकारी, विद्यार्थीहरुमा देखिने तत्तकाल समस्याहरुको प्राथमिक उपचारमा सहज भएकोले विद्यालय नर्स कार्यक्रम प्रभावकारी भएको छ ।
हरिडिल भूमि माविका शिक्षक खगिसरा शाहीले विद्यालयमा विद्यालय नर्स कार्यक्रम लागू भए पछि सहज भएको बताइन् । स्वास्थ्य सम्बन्धी चेतनामुलक कार्यक्रम भइरहेको छ । विद्यार्थीहरुलाई तत्तकाल केही स्वास्थ्य समस्या देखिहाले प्राथमिक उपचार गर्न सहज हुन्छ । छात्रहरु सहज रुपमा नर्सलाई आफ्ना समस्याहरु राख्ने गरेका छन् । विद्यालय नर्स कार्यक्रमले विशेष गरेर छात्राहरुलाई सहज भएको छ । आफ्ना समस्याहरु सहजै रुपमा छात्राहरुले राख्ने गरेका छन् । छात्राहरुलाई महिनावारी भएको समयमा अझै सहज भएको छ । विद्यार्थीहरुले आफुमा देखिएका विभिन्न समस्याहरु सहजै राख्ने गरेका छन् । उनले भनिन्, ‘शिक्षकलाई भन्न नसक्ने कतिपय कुराहरु नर्सलाई सहजै रुपमा राख्न सक्छन् ।’
श्रीकृष्ण संस्कृत तथा साधारण मावि इत्राममा पनि दुई वर्षदेखि विद्यालय नर्स कार्यक्रम संचालनमा छ । विद्यालयका प्राध्यानाध्यापक यामलाल घिमिरेले विद्यालय नर्स कार्यक्रमले धेरै समस्याहरु सम्बोधन गरेको बताए । उनले भने, ‘विद्यार्थीहरुलाई सँगै शिक्षकहरुलाइ समेत उपचारका लागि स्वास्थ्य परीक्षण, सामान्य परामर्श, अभिभावकहरुलाई लाभ मिलेको छ । ’
विद्यालय नर्स जानकी थापाले विद्यार्थीहरुको सामान्य स्वास्थ्य परीक्षण, विभिन्न रोगहरुको बरोमा जानकारी दिने, उनीहरुको समस्या बुझेर परार्मश गर्ने, उपचारका लागि रिफर गर्ने गरिएको बताइन् । विद्यार्थीहरुले पहिलेको तुलनामा सहज रुपमा खुलस्त रुपमा आफ्ना समस्याहरु राख्ने गरेको उनको भनाई छ । ‘विद्यार्थीहरु निन्द्रा नलाग्ने, तनाव भएको, छात्राहरु महिनावारी हुँदा सहजै रुपमा समस्या राख्ने गरेका छन् । हामीले विद्यालयमा बिरामी हुनै नदिने उपायहरु पनि सिकाउँछौँ । स्वास्थ्य शिक्षाका बारेमा जानकारी दिन्छु ।’
श्रीकृष्ण तथा संस्कृत मावि इत्राममा कक्षा नौ मा अध्यनरत दिपा सिंहले नर्ससँग आफुलाई आएका समस्या सहज रुपमा बताइन् । उनले भनिन्, ‘सामान्य स्वास्थ्य समस्या भयो भने नर्सलाई भन्यो भने उपचार हुन्छ भनेर भन्छौँ । महिनावारी हुँदा विद्यालयमा अलि समस्या हुन्छ । केही समस्या भयो नर्सलाई भन्छौँ ।’ विद्यालयमा छात्राहरुका लागि सेनेटरी प्याडको व्यवस्था गरिएले सहज भएको छ । कक्षा ८ मा अध्ययनरत छात्र सोनु कुमालले शिक्षकहरुलाई आफ्ना समस्या भन्दा नर्सलाई राख्न सजिलो भएको बताए । विद्यालयमा कहिलेकाँही चोटपकट लाग्यो भने विद्यालयमै उपचार हुने हुँदा सहज भएको उनले जानकारी दिए । ।
वीरेन्द्रनगरका २८ वटा विद्यालयमा विद्यालय नर्स कार्यक्रम लागू भएको छ । संघीय सरकारको कार्यक्रम तथा बजेट र नगरपालिकाले आन्तरिक रुपमा पनि विद्यालय नर्सको व्यवस्था गरेको हो । नगरपालिकाका सूचना अधिकारी उद्यम प्रसाद आचार्यले विद्यालय नर्सको कार्यक्रमले विद्यार्थीहरुलाई सहज भएको बताए । स्वास्थ्य शिक्षाको बारेमा जानकारी पाउने भएकाले यो कार्यक्रम प्रभावकारी बन्दै गएको उनको भनाई छ ।
उनले भने, विद्यालयमा सेनेटरी प्याड माग्न समेत छात्राहरु असहज मान्ने हुन्थ्यो । छात्राहरुले आफ्ना समस्याहरु शिक्षकहरुलाई भन्न नसकेको अवस्थामा नर्सलाई भन्छन् । दैनिक परी आउने चोटपटकका कुराहरुमा पनि प्राथमिक उपचार गर्न सहज भएको छ ।’ उनले अहिले विद्यालयमा दिवा खाजा कार्यक्रममा सहयोग पुगेको बताए । कस्तो खाना खाने, नखानेलगायत स्वास्थ्य शिक्षाका बारेमा जानकारी दिन पनि विद्यालय नर्स कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाई छ ।
