कर्णालीमा ६९ प्रतिशतले लगाए कोरोना विरुद्धको दोस्रो मात्रा खोप
सुर्खेत । कर्णाली प्रदेशमा कोरोना विरुद्धको खोप दोस्रो मात्रा लगाउने जनसंख्या ६९ प्रतिशत रहेको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार लक्षित जनसंख्याको प्रदेशमा हालसम्म पहिलो मात्रा ७० प्रतिशत जनसंख्याले लगाएका छन् भने ६९ प्रतिशतले दोस्रो मात्रा लगाएका छन् ।
प्रदेशमा नौ लाख ८७ हजार १३९ जनाले पहिलो मात्रा खोप लगाएका छन् भने नौ लाख ७३ हजार ६४८ जनाले दुवै मात्रा लगाएका हुन् । एक लाख सात हजार ६८१ जनाले खोप थप मात्रा (बुस्टर डोज)लगाएका छन् कर्णालीमा कोभिशिल्ड, एस्ट्राजेनिका, भेरोसेल, फाईजर, मोडर्ना र जान्सेन खोप दिइएको छ ।
निर्देशनालयका अधिकृत पदम केसीले कोभिड विरुद्धको खोप अभियान सबै जिल्लामा संचालन भइरहेको जानकारी दिए । उनले यो महिना भित्र सबैलाई खोप लगाइसक्ने लक्ष्य लिए बताउनुभयो ।
निर्देशनालयका अनुसार हालसम्म सुर्खेतमा दुई लाख ६७ हजार ८८५ जनाले पहिलो मात्रा र दुई लाख ५८ हजार ५६६ जनाले दोस्रो मात्रा खोप लगाएका हुन् । सल्यानमा एक लाख ३५ हजार ७९० जनाले पहिलो मात्रा र एक लाख ३९ हजार १६९ जनाले दोस्रो मात्रा खोप लगाएका हुन् । दैलेखमा एक लाख २६ हजार २७५ जनाले पहिलो मात्रा र एक लाख ५१ हजार ३२९ जनाले दुवै मात्रा लगाएका छन् । जाजरकोटमा ९६ हजार ५४७ ले पहिलो मात्रा र एक लाख छ हजार ४२० जनाले दोस्रो मात्रा खोप लगाएका हुन् ।
यस्तै रुकुमपश्चिममा ९० हजार ७५४ जनाले पहिलो मात्रा र ९९ हजार ५०५ जनाले दोस्रो मात्रा खोप लगाएका हुन् । कालीकोटमा ८१ हजार ५३ जनाले पहिलो मात्रा र ७३ हजार ७२९ जनाले दोस्रो मात्रा खोप लगाएका छन् । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने फाइजर र मोडर्ना खोप दुई लाख ४० हजार ८४३ जनालाई पहिलो मात्रा र एक लाख ९१ हजार ३३३ जनालाई दोस्रो मात्राको खोप दिइएको छ ।
डोल्पामा २५ हजार ४८९ जनाले पहिलो मात्रा, १९ हजार २१८ ले दोस्रो मात्रा खोप लगाएका छन् । मुगुमा ४४ हजार ३३३ जनाले पहिलो मात्रा र ३८ हजार ८६२ जनाले दोस्रो मात्रा खोप लगाएका छन् । हुम्लामा ३२ हजार २१५ र २७ हजार १०२ ले दोस्रो मात्रा खोप लगाएका छन् ।
जुम्लामा ८६ हजार ७९८ जनाले पहिलो मात्रा र ५९ हजार ७४८ जनाले दोस्रो मात्रा खोप लगाएका हुन् । पछिल्लो समय कर्णालीमा कोरोना सङ्क्रमणको दरमा पनि न्यून रहेको छ । हाल प्रदेशमा सक्रिय सङ्क्रमितको संख्या २६ रहेको छ । कर्णालीमा कोरोना सङ्क्रमणको दर पनि न्यून हुँदै गएको केसीले बताए ।
