ओलीको गृहनगरमै राप्रपाले दाबी गरेपछि एमाले–राप्रपा तालमेल के होला ?
शनिबार दिउँसो झापाको आमसभामा बोलेर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राम थापालाई दमकको मेयरको उम्मेदवार घोषणा गरे । ०७४ को स्थानीय चुनावमा एमालेका उम्मेदवार रोमनाथ ओलीसँग पराजित भएका थापाको उम्मेदवारी घोषणाले एमाले अध्यक्ष केपी ओलीलाई झट्का लागेको छ ।
राप्रपाले एमालेसँग चुनावी सहकार्य गर्न सक्ने सम्भावनामाथि विश्लेषण भइरहेको थियो । हुन पनि १८ चैतमा महामन्त्री धवल शमशेर राणाले एमाले अध्यक्ष ओलीसँग छलफल गरेका पनि थिए । नेपालगञ्जका स्नेहा होटलमा भएको छलफल चुनाव केन्द्रित थियो ।
तर, २६ चैतमा दमक नगरपालिकामा मेयरको उम्मेदवार थापालाई बनाउने निर्णयसँगै एमालेसँग राप्रपाको सहकार्य धमिलो बनेको छ । थापालाई उम्मेदवार बनाएर राप्रपाले चलाखीपूर्ण राजनीति गरेको विश्लेषण पनि दमकमा भइरहेको छ । एमाले र कांग्रेस नेताहरूसँग समानान्तर छलफलमा रहेको राप्रपाले मेयर पद हात पर्ने रणनीति लिएको छ ।
अघिल्लो चुनावमा दोस्रो भएको हैसियतले कांग्रेससँग मेयरमा आफूलाई समर्थन गरे उपमेयर दिन सकिने सन्देश राप्रपाले पठाएको छ । त्यसो हुँदा एमाले अध्यक्ष ओलीको गृहनगरमा एमाले पराजित हुने सम्भावना हुन्छ । त्यसमाथि माओवादी केन्द्रका गगन पुरीले पनि एमाले हराउन राप्रपासहितको गठबन्धनलाई साथ दिन सक्छन् । त्यस्तो अवस्थामा एमाले दमकमा पराजित हुन सक्छ । त्यसो नभई अन्तिममा एमालेसँग तालमेल गर्ने अवस्था आए पनि मेयरको दाबी थापाले नछोड्न राप्रपाका नेताहरूले बताइरहेका छन् ।
एमालेसँग तालमेल गर्दा उपमेयर एमालेलाई छोड्न सकिने राप्रपा नेताहरूले बताएका छन् । एमालेले चाहिँ मेयर एमालेले लिई उपमेयर राप्रपालाई दिने र थापालाई प्रदेशसभा सदस्यमा सहयोग गर्ने प्रस्ताव गरेको छ । जसमा राप्रपा र मेयरका आकांक्षी थापा दुवै सहमत देखिएका छैनन् ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ दमकमा एमालेसँग सहकार्यको सम्भावना नरहेको बताए । श्रेष्ठले भने, ‘हामी एक्लै चुनावी मैदानमा जाने तयारीमा छौँ । गठबन्धनका लागि कुनै दलले प्रस्ताव गरेका छैनन् र हामीले पनि प्रस्ताव गरेका छैनौँ ।’
आफ्नो गृहनगरको मेयर अर्को पार्टीलाई दिएर सहकार्य नगर्ने मनोविज्ञानमा एमाले अध्यक्ष ओली रहेको दमकका एमाले नेताहरू बताउँछन् । झापाबाट ती नेताले भने, ‘राप्रपाले दुवैतिर बार्गेनिङ गरिरहेको छ तर एमालेले मेयर पद छोड्ने पक्षमा छैन ।’ राप्रपासँग तालमेल नहुने सम्भावना भएकै कारण मेयर ओली दोहोरिने पक्षमा छैनन् भने उपमेयर गीता अधिकारीचाहिँ बलियो दाबेदारका रूपमा देखिएकी छिन् ।
अघिल्लो चुनावमा झापाका हल्दिवारी र कचनकवल दुईवटा गाउँपालिकाको अध्यक्ष राप्रपाले जितेको थियो । ती पालिकाकालाई कायम राखेर अहिले दमक पनि हात पार्ने रणनीति राप्रपाले बनाएको हो । त्यसका पालिकास्तरमा माओवादी केन्द्रसँग पनि तालमेल गर्न सकिने राप्रपाका एक नेताले बताए । दमकमा माओवादीको साथ पाउँदा मेयरमा राप्रपाले जित्ने सम्भावना हुन्छ ।
झापा प्रकरणले एमालेसँग सहकार्य गर्ने सम्भावना कम देखाउनुको कारण कमल थापा फ्याक्टरले पनि काम गरेको छ । थापाले एमालेको सूर्य चिह्न लिएर भए पनि सहकार्य गर्ने २५ चैतमा सार्वजनिक गरेका थिए । त्यसले राप्रपालाई चिढ्याएको छ । एमाले अध्यक्ष ओली राप्रपा नेपालका कमल थापासँग नजिकिन थालेपछि राजेन्द्र लिङ्देन भने टाढिन थालेका हुन् ।
लिङ्देनको चुनावी क्षेत्रमा अध्यक्ष ओलीले व्यापारी दुर्गा प्रसाईंलाई अगाडि बढाएका छन्, जसप्रति लिङ्देन खुसी छैनन् । लिङ्देनभन्दा पनि थापासँगको निकटताका कारण राप्रपासँगको तालमेल बिग्रिएको पनि राप्रपाका एक नेताको भनाइ छ । महामन्त्री धवल शमशेर भने एमालेसँग सहकार्य गरेर चुनावमा जान चाहिरहेका छन् । नेपालगञ्ज उपमहानगरको मेयर राणा अहिले एमालेको मेयरलाई साथ दिने र उपमेयर आफ्नो पार्टीले लिने रणनीति बनाएका छन् । त्यसो गर्दा आउने संघीय चुनावमा एमाले आफूलाई सहयोग गर्ने राणाको विश्लेषण देखिन्छ । राप्रपासँग सहकार्य गर्ने एमाले नीति फेरबदल भएको अवस्थामा राणाको उक्त रणनीति पनि फेल हुने सम्भावना हुन्छ ।
त्यसो त अहिले राप्रपाले ०७४ मा जितेका ५ पालिका प्रमुख कायम राखेर केही थप्ने रणनीति बनाएको छ । त्यसैले राप्रपाले २६ फागुनबाट सुरु गरेको देश दौडाहा अभियान १० वैशाखसम्म कायम राख्दैछ । उसले हरेक दिन एउटा जिल्लामा अध्यक्ष राजेन्द्र लिङ्देन भाषण गर्न पुग्ने गरेका छन् ।-
– शिलापत्र
