नारायण सरकारका पाँच बर्ष “न बिषमात न हर्ष”
दैलेख । दैलेखको पुरानो नगरपालिका हो नारायण नगरपालिकाले । २०५३ मा स्थापना भएको २६ बर्ष भयो । अन्य पालिकामा भन्दा यो नगरपालिकाले विकास निर्माणमा निकै फड्को मारि सक्नुपर्ने हो । तर विडम्बना पुरानो नगरपालिका भएपनि विकास निर्माणमा भने अन्य पालिका भन्दा फरक छैन । आम नागरिकका आधारभुत समेत पुरा हुन सकेका छैनन् । जिल्ला सदरममुकाको सडक कालोपत्रे गरेपनि खाल्डाखुल्डी उस्तै छन् ।
संघियता सँगै सिंहदरबारको अधिकार गाउँमा आयो । त्यही अनुरुप पालिकामा विकास बजेट आयो । तर विकासमा भने नगरपालिकाले गति लिन सकेन । पाँच बर्षका लागि नागरिकबाट चुनिएका जनप्रतिनिधीले नमुना काम समेत गर्न नसकेको नगरबासी बताउँछन ।
२०७४ स्थानीय तहको निर्वाचनमा एमाले पार्टीबाट यस नगरपालिकामा मेयरका उम्मेदवार रत्नबहादुर खड्का,उपमेयरमा सोही पार्टीकी सावित्री मल्लले चुनाव जिते । खड्काले ४ हजार ७६५ मत प्राप्त गरे भने सावित्री मल्लले ४ हजार ८६६ मत ल्याएर विजयी भईन । खडका र मल्लका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका उम्मेदवार मणिराम रेग्मीले ४ हजार ४६७ मत प्राप्त गरे भने उपमेयर बासना थापाले ४ हजार २८५ मत प्राप्त गरि उपविजेता बनिन् ।
चुनावताका नगरपालिका दुई जना जनप्रतिनिधीले जनमत आफ्नो पक्षमा पार्न घोषणा पत्र जारी गरे । घोषणा पत्रमा समावेश गरेका योजनलाई पहिलो नगरसभाबाट समेत गरे । तर पहिलो नगरसभाबाट पारित गरिएका नगरपालिकाका १० वटा महत्वकांक्षी योजना पुरा हुन सकेनन्, डीपिआरमै थन्किए ।
घोषणापत्रमा उल्लेख गरिएका नगरसभाको पहिलो सभाबाट प्राथमिकतामा परेको नगर चक्रपथ, पञ्चकोशी मानवनिर्मित ताल, जडिबुटी उद्यान तथा प्रशोधन केन्द्र, तुर्सुकोट भ्यूटावर, मिनिजू लगायतका नगरका ठूला योजनाहरु पाँच बर्ष वितिसक्दा पनि पुरा हुन सकेनन् डीपीआरमै थन्किएका छन् ।
घोषणापत्रमा उल्लेख भएको कोटिला पञ्चकोशी मानवनिर्मित ताल लागि २ अर्ब २९ करोड रुपैयाँ लागत अनुमान गरी डीपीआर गरियो । तालको डीपीआर र इआईएमै ६० लाख रुपैयाँ खर्च नगरपालिकाले गरि सकेको छ । कार्यान्वयन काम भने शून्य छ । चक्रपथको योजना पनि डीपीआरमै थन्किएको छ । ‘ चुनावताका लोकप्रियताका लागि ठूला उम्मेदवारले जनमत पाउनको लागि महत्वकाँक्षी अगाडी सारे त्यही अनुसार जनताले मतदान पनि गरे, जनप्रतिनिधी खड्का र मल्ल भने बजेट अभाव देखाउँदै पन्छिन खोजेको नगरपालिकको भनाई छ ।
डिपीआरमै ३ करोड खर्च ।
नगरपालिकाले १० वटा आयोजनाको डीपीआरमा झण्डै ३ करोड रुपैयाँ खर्च गरेको छ । डिपिआर गरिएको ती सबै आयोजना १० करोड माथिका हुन् । जबकि नगरपालिकाको बजेट हरेक वर्ष ४० देखि ६० करोड रुपैयाँको विनियोजन गरिन्छ ।
‘एक सहर, एक पहिचान’ अन्तर्गत काँडाचौरमा बसपार्क बनाउन पहिलो वर्ष २१ करोड रुपैयाँमा टेन्डर आव्हान गरिए अधुरै रहेको छ । कार्यकाल सकिन लाग्दासमेत बसपार्क हिलाम्मे,धुलाम्मे छ ।बस पार्कमा बस नगएर जिल्ला प्रहरी कार्यालय पछाडी भाग सडकमै रोकिन्छन् । त्यसैगरि नगरपालिकाले अघि सारेका राईली–त्रिपानी पर्यटकीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम, एक घर एक धारा, देवलहरुको संरक्षण, प्रदेशस्तरीय रंगशाला निर्माण, नगरसभा हल, औद्योगिक ग्राम, सुर्खेत–दैलेख–महाबु सडक स्तरोन्नतिलगायतका योजनाका काम अधुरै छ ।
पाँच वर्षभित्र समृद्ध नगर बनाउने प्रतिबद्धता गरेका बर्षेनी कालोपत्रे टालटुल गरेर कार्यकर्ता पोस्ने काम गरेको स्थानीय बासी दिवस थापाले बताए । । घोषणाा पत्र अनुसार त कुनै पनि काम गरेका छैनन् । चुनावमा आश्वासन मात्र दिए । बाचा अधुरै राखे । भोट नै खेर गयो । अब आउने चुनावमा जनताका माग बमोजिम काम गर्ने सानो कुरालाई सुक्ष्म तरिकाले बुझ्ने,जनपक्षिय उम्मेदवारलाई मैले भोट दिन्छु,उनले भने ।
नगरपालिका कार्यालयमा ५० जनाको दरबन्दी छ भने नगरपालिकामा ८३ कर्मचारी कार्यरत छन् । कार्यकर्ता रिझाउने नाममा जनप्रतिनिधिले ४० जना कार्यालय सहयोगी भर्ना गरेका छन् । ‘कतिलाई त आफ्नो जिम्मेवारी नै के हो भन्ने थाहा छैन नगरपालिकाले एक कर्मचारीले बताए ।
नगरपालिकामा सडक, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतमा सोचे अनुसार प्रगति भएको भएको प्रमुख प्रशासकीय अधिकृत भक्त मल्लले बताए । तर २६ बर्ष पुरानो नगरपालिकाको ९ वडा वडाकार्यालय घर भाडामा लिएर कार्यालय सन्चालन गरेका छन।
चार करोड रुपैयाँ बजेटबाट ७ सय खरका छाना भएका घरमा टिनको छाना लगाइएको छ भने नगरपालिकाले कृषकलाई २ सय १८ भैंसी, १ हजार ५०० बाख्रा र १५ हजार २ सय कुखुराका चल्ला वितरण गरेको जनाएको छ ।
‘असल आमा प्रोत्साहन कार्यक्रम, गर्भवती आमासँग उपप्रमुख, पीसीआर मेसिन खरिद, ५० शैयाँको आइसोलेसन भवन निर्माण पनि हाम्रा नमुना गरेको नारायण नगरपालिकाले जनाएको छ । ‘रिङरोडको २९ किलोमिटर ट्रयाक खोलिएको छ, श्रीस्थान सडकमा १ किलोमिटर कालोपत्रे हुँदैछ ।’ तर काम हेर्दा खुशी हुनुपर्ने छैन । चुनावमा घोषणा पत्र अनुसार काम भएको छैन,नारायण नगरपालिका गणेश प्रसाद कोइरालाले बताए ।
चार आर्थिक वर्षमा नगरपालिका २ अर्ब ९७ करोड बजेट छुट्याएको थियो । जसमा गत वर्षसम्म २ अर्ब ३५ करोड रुपैयाँ खर्च भएको छ भने ६ करोड २५ लाख रुपैयाँ फ्रिज भएको नगरपालिकाले जनाएको छ । प्रदेश र संघीय सरकारले बजेट नदिँदा नगर गौरवका योजनाहरु अघि बढ्न नसकेको नगरप्रमुख रत्नबहादुर खड्का बताउँछन् ।
हाम्रो कार्यकालमा नगरपालिकाका ११ वडामा सडक पु¥याइएको र २ किलोमिटर सडक कालोपत्रे गरिएको छ । २० किलोमिटर सडक ग्राभेल गरेका छौँ उनले भने ।’
