कसैले चाहेर पनि अहिलेको सत्ता गठबन्धन टुटाउन सक्दैनन् ; नेपाल
सुर्खेत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कसैले चाहेर पनि अहिलेको सत्ता गठबन्धन टुटाउन नसक्ने बताएका छन्।
कर्णाली प्रदेशका १० जिल्लाबाट आफ्नो पार्टीबाट विजयी भएका जनप्रतिनिधिलाई बधाई तथा प्रशिक्षण दिन बिहीबार सुर्खेत आएका अध्यक्ष नेपालले यस्तो बताएका हुन्।
उनले आफ्नो पार्टीप्रति अहंकारी र विभिन्न षड्यन्त्रकारी शक्तिहरूले अनावश्यक भ्रम फैलाएको बताए। साथै उनले स्थानीय तहको निर्वाचन परिणामलाई समीक्षा गर्दै आगामी निर्वाचनसम्म गठबन्धन कायम गरिने बताएका छन्।
अध्यक्ष नेपालले आफू कुनै प्रकारको प्रलोभन तथा लालचमा नपर्ने पनि प्रष्ट पारेका छन्। अहंकारी र षडयन्त्रकारीहरुले विभिन्न खालका भ्रम फैलाइरहेको आरोप लगाउँदै उनले आफूलाई कुनै पदको लोभ, लालच नभएको पनि सुनाए।
अध्यक्ष नेपालले आगामी आर्थिक वर्षको बजेट चुनावमुखी नभएको पनि बताए। ‘बजेट चुनावको समयमा आएको हो तर चुनावमुखी होइन,’ अनाआवश्यक कुरा गरेर समय खर्चिनेको कुरा सुनेर नअलमलिनसमेत उनले आग्रह गरे।
स्थानीय निर्वाचनमा नेकपा एकीकृत समाजवादीले देशभरबाट २० स्थानीय तहमा जित हासिल गरेको छ।
