नेपालमा कोरोना सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार नाघ्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा आठ सय १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार नाघेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा पीसीआर र एन्टिजेन गरी पाँच हजार चार सय १५ जनाको नमुना परीक्षण भएको थियो । थप आठ सय १४ जनामा सङ्क्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार एक सय ४४ जना पुगेको हो ।
पछिल्लो समय निको हुनेभन्दा थपिने सङ्क्रमितको सङ्ख्या निकै धेरै हुँदा सक्रिय सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । २४ घण्टामा जम्मा दुई सय ९९ जना मात्रै निको भएका छन् । यस अवधिमा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।
यस्तै थप ११ हजार पाँच सय १३ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ ।
