मन्त्री र सचिवलाई प्रधानमन्त्रीको २७ बुँदे निर्देशन
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री र सचिवलाई २७ बुँदे निर्देशन दिएका छन् । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाएर संयुक्त रुपमा मन्त्री÷राज्यमन्त्री र सचिवलाई प्रधानमन्त्री देउवाले २७ बुँदामा निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री देउवाको निर्देशन बजेट कार्यान्वयन कार्ययोजनाको प्रभावकारी कार्यासम्पादन, चुनावी तयारीलगायत विषयमा केन्द्रित छ । उनले पाँच दलीय सरकार गठन भएको एक वर्षमा सरकारले राजनीतिक स्थायित्व प्रदान गर्दै स्थानीय तहमा नयाँ नेतृत्व स्थापित गराएको उल्लेख गरे । स्थानीय तह निर्वाचनपछि आएको नेतृत्वले विकास र सेवा प्रवाहमा उत्साह देखाएको उनको भनाइ छ ।
प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन केही महिनामै हुने जानकारी गराउनुहुँदै त्यसको तयारीलाई उच्च प्राथमिकता दिन निर्देशनसमेत दिए ।
‘६ महिनामा तरकारी र एक वर्षमा खाद्यान्नमा आत्मनिर्भर हुने तयारी गर्नुहोस्’
प्रधानमन्त्री देउवाले ६ महिनाभित्र तरकारी तथा फलफूल र एक वर्षभित्र खाद्यन्नमा आत्मनिर्भर हुनेगरी सम्पूर्ण तयारी गर्न पनि मन्त्री र सचिवलाई निर्देशन दिए । । विद्युत खपत बढाउने, निर्यातलाई प्रवर्द्धन गर्ने काम सबै मन्त्रालयले योजना बनाएर अघि बढ्नु पर्ने प्रधानमन्त्रीको निर्देशनमा उल्लेख छ ।
उक्त बैठकमा सरकारका सबै मन्त्रीहरुले आर्थिक वर्षको बजेट र यसको कार्यन्वयनका विषयमा धारणा राखेका थिए ।
