डिजेल र मट्टीतेलको भाउ बढ्यो ।
नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य बढाएको छ।
बिहीबार राति १२ बजेबाट लागू हुने गरी निगमले डिजेल र मट्टीतेल लिटरमा ६ रूपैयाँ बढाएको हो।
निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेल १७८ रूपैयाँ लिटर पर्नेछ।
निगमले पेट्रोल, खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखेको छ।
हाल पेट्रोल लिटरको १८१ रूपैयाँ र एलपी ग्यास एक हजार ८ सय रूपैयाँ छ। हवाइ इन्धन (आन्तरिक) को प्रतिलिटर १९० रूपैयाँ छ।
निगमले बिहीबार भारतीय आयल कर्पोरेसन ९आइओसी० बाट नयाँ मूल्यसूची प्राप्त भएको जानकारी दिँदै मूल्य समायोजन गरिएको जनाएको छ।
निगमका अनुसार नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर १.३९ रूपैयाँ, डिजेलमा ६.१२ रूपैयाँ र हवाइ इन्धनमा ८.०१ रूपैयाँ बढेर आएको छ। मट्टीतेल र ग्यासको भने भाउ केही घटेर आएको छ।
यसका बाबजुद पन्ध्र दिनमा ४८ करोड २४ लाख रूपैयाँ घाटा हुने स्थिति देखिएकाले मट्टीतेल र डिजेलको भाउ बढाइएको निगमले बताएको छ।
जारी विज्ञप्तिअनुसार निगमलाई ग्यासमा प्रतिसिलिन्डर ३७८.०७ रूपैयाँ र डिजेलमा ११.१८ रूपैयाँ घाटा छ। पेट्रोलमा भने २.८२ रूपैयाँ नाफा छ।
मूल्य समायोजनपछि पनि पन्ध्र दिनमा ३० करोड ५२ लाख रूपैयाँ घाटा हुने अवस्था रहेको निगमले बताएको छ।
