भाजपाले राहुल गान्धीको महंगो टी-सर्टको कुरा निकालेपछि कांग्रेसले निकाल्यो मोदीको सुटको प्रसंग ।
एजेन्सी
‘भारत जोडो यात्रा’ मा रहेका भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी अहिले उनको टिसर्टका लागि चर्चामा छ । बरबेरी नामक ब्राण्डको टीसर्टमा देखिएका राहुल गान्धीको फोटो ट्वीट गर्दै भाजपाको आधिकारिक ट्वीटरले लेख्यो ,‘भारत, हेर्नुस् । ४१ हजारको टी–सर्ट ।’ भाजपाको सो ट्वीटमा राहुल गान्धीले लगाएजस्तै बरबेरीको टीसर्ट र त्यसको मूल्य रहेको कुनै अनलाइन रिटेलको स्क्रिनसर्ट पनि राखिएको छ । भाजपाको यस ट्वीटमा कांग्रेसले पनि जवाफ दिएको छ ।
कांग्रेसको आधिकारिक ट्वीटमार्फत दिएको जवाफमा लेखिएको छ– ‘भारत जोडो यात्रामा देखिएको जनउत्साह देखेर आत्तिएको हो ? मुद्दाको बारेमा कुरा गर्नुहोस् …बेरोजगारी र महगाईबारे कुरा गर्नुस् न । कपडाकै कुरा गर्ने हो भने फेरि कुरा मोदीजीको १० लाखको सुट र १.५ लाखको चस्मा चर्चामा जान्छ । कुरा गर्ने हो ? ’
कांग्रेस पार्टीले देशमा बढ्दै गएको घृणाको वातावरणविरुद्ध मानिसहरुलाई जोड्न प्रयास स्वरुप यात्रा सुरु गरेको बताएको छ । राहुल गान्धीले यस यात्राबाट आफूले देश र आफ्नो बारेमा थप बुझ्ने पनि बताएका छन् ।
