अर्जेन्टिनाको जितमा मेसीको २ गोल
विश्वकपको तयारीमा रहेको अर्जेन्टिनाले होन्डुरसमाथि ३-० जित निकालेको छ।
अर्जेन्टिनालाई जिताउन मेसीले दुई गोल गर्दा अर्को एक गोल लोउटारो मार्टिनेजले गरे।
यो जितसँगै अर्जेन्टिनाले आफ्नो अपराजित यात्रा ३४ खेलसम्म पुर्याएको छ।
अर्जेन्टिना पछिल्लो पटक २०१९ को कोपा अमेरिकाको सेमिफाइनलमा ब्राजिलसँग पराजित भएयता अपराजित रहँदै आएको छ।
मियामीस्थित हार्ड रक स्टेडियममा खेलको १६औँ मिनेटमा मार्टिनेजको गोल गर्दै टोलीलाई सुरूआती अग्रता दिलाएका थिए।
पहिलो हाफको इन्ज्युरी समयमा मेसीले पेनाल्टीमार्फत गोल गर्दै टिमको अग्रता दोब्बर बनाए।
त्यसपछि खेलको ६९औँ मिनेटमा मेसीले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे। त्यसपछि खेलमा कुनै गोल भएन र खेल अर्जेन्टिनाले ३-० ले जित्यो।
अब अर्जेन्टिनाले अन्तिम मैत्रीपूर्ण खेल जमैकासँग बुधबार बिहान रेड बुल एरेना, न्यु जर्सीमा खेल्नेछ।
दुई पटकको विश्व च्याम्पियन अर्जेन्टिना कतार विश्वकपको समूह सी मा छ। जहाँ उसले समूहचरणमा पोल्यान्ड, मेक्सिको र साउदी अरेबियाविरूद्ध प्रतिस्पर्धा गर्नेछ।
