निष्पक्ष ढंगबाट खवरदारी जरुरी
दैलेख : चामुण्डाबिन्द्रासैनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलक बिकले पत्रकारहरुले सरकारका गतिविधिको खवरदारी निष्पक्ष ढंगबाट गर्नुपर्ने बताएका छन् । समावेशी सञ्चार सहकारीले जम्बुकाँधमा सञ्चालन गर्न लागेको ‘हाम्रो समावेशी’ रेडियोका लागि इच्छुक प्रशिक्षार्थी पत्रकारहरुका लागि १ हप्ते आधारभूत पत्रकारिता तालिमको समापन कार्यक्रममा उनले सो विचार राखेका थिए ।
पत्रकारले गर्ने खवरदारीले सरकारका हरेक गतिविधि पारदर्शी गराउन सघाउ पुग्ने प्रमुख प्रशासकीय अधिकृत बिकले विश्वास व्यक्त गरे ।
कार्यक्रममा तालिम प्रशिक्षक अमर सुनारले प्रविधिको उचित प्रयोग र लगनशीलता भए नयाँ पत्रकारले पुराना पत्रकारहरुलाई उछिन्न सक्ने बताए । समाचार उत्पादन, प्रसारण तथा प्रकाशन कडा परिश्रम आवाज विहीनहरुको आवाज बन्नुपर्ने उनको धारणा थियो ।
‘हाम्रो समावेशी’ रेडियो व्यवस्थापन समितिका अध्यक्ष दिनेश बिकको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा रेडियोका स्टेसन मेनेजर सुरेन्द्र शाही, समावेशी सञ्चार सहकारीका अध्यक्ष भूपेन्द्र शाही, प्रशिक्षार्थी पत्रकार जीवन बिक, रुकुम मिजार लगायतले बोलेका थिए ।
आगामी वैशाखदेखि प्रसारण आरम्भ गर्ने लक्ष्य राखिएको ‘हाम्रो समावेशी’ रेडियो ९३ दशमलव ३ मेगाहर्जमा प्रसारण हुनेछ । रेडियो सञ्चालनका लागि प्रशिक्षार्थी पत्रकारहरुलाई रेडियो शैलीका विषयमा गायक तथा सञ्चारकमी कमल बिके निर्मोही मुख्य प्रशिक्षक थिए ।
१२ महिला सहित २६ जना प्रशिक्षार्थी पत्रकारलाई रेडियो उद्घोषण, पत्रकारिता र व्यवस्थापकीय पक्ष विषयमा पत्रकार अमर सुनार, ‘हाम्रो समावेशी’ रेडियो व्यवस्थापन समितिका अध्यक्ष दिनेश बिक र रेडियोकका स्टेसन मेनेजर सुरेन्द्र शाहीले पनि सहजीकरण गरेका थिए ।