लैङ्गिक कार्य तथा सिकाई पद्दति तालिम सम्पन्न ।
सुर्खेत । कृषि क्षेत्र विकास कार्यक्रम (ASDP) अन्तर्गत कालिकोट, सुर्खेत, जाजरकोट, सल्यान र रुकुममा सहजीकरण गरिएका समुह सदस्यहरु तथा कर्मचारीहरुका लागि ६ दिने लैङ्गिक कार्य तथा सिकाई पद्दति सम्बन्धि प्रशिक्षक प्रशिक्षण तालिम मिति २०७९ मंसीर ७ देखि १२ गतेसम्म होटल डि नमस्ते सुर्खेतमा सम्पन्न भएको छ । तालिममा समुह सदस्य र कर्मचारी गरि १८ जनाको सहभागिता रहेको थियो ।
समूहमा पछाडि परेका महिला तथा विपन्न वर्गहरुलाई घरपरिवारतहको परामर्श सहितको लैङ्गिक कार्य सिकाई पद्दती (गाल्स) को माध्यमबाट सशक्तिकरण गर्दै कृषि मूल्य शृङ्खला विकास, महिला र युवा सशक्तिकरण, घर परिवार तहको पोषण, जलवायु परिवर्तन जस्ता विविध क्षेत्र र मुद्दाहरु समेट्दै व्यक्ति आफै, घरपरिवार र समुदायमा परिवर्तन गर्न गराउन तत्पर समूहका सदस्यहरुको सामाजिक तथा आर्थिक सशक्तिकरणको लागि सहजकर्ताहरुको सीप तथा क्षमता विकास गर्नु तालिमको उद्देश्य रहेको छ।तालिमको सहजीकरण कृषि विकासका लागि अन्तराष्ट्रिय कोषका परामर्शदाता त्रिभुवन पौडेल र कृषि क्षेत्र विकास कार्यक्रम सुर्खेतका लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण विज्ञ द्रौपदी सुवेदीले गर्नुभएको थियो ।
कृषि क्षेत्र विकास कार्यक्रमले कर्णाली प्रदेशका १० वटा जिल्लामा विगत ४ बर्ष देखि नाफा मूलक उत्पादनका लागि बेमौसमी तरकारी खेती, दुग्ध व्यवसाय, तरकारीको बीउ, खसी बोका, अदुवा बेसार, टिमुर, आलुको बीउ तथा उच्च पोषणयुक्त स्थानीय बालीहरु कर्णालीको सिमी, कोदो, फापर आदि मूल्य श्रृंखलामा रहेर काम गरिरहेको छ । कर्णाली प्रदेशका पहाडी र उच्च पहाडी क्षेत्रमा बसोबास गरेका जनताहरुको गरीवी तथा पोषण असुरक्षा न्यूनिकरण गरी दिगो विकास लक्ष्यप्राप्तिमा योगदान पुर्र्याउनु यस कार्यक्रमको लक्ष्य हो ।
लेखनः रत्नबहादुर बुढा
(ज्ञान व्यवस्थापन तथा संचार अधिकृत, (ASDP) सुर्खेत)