पहिरो पिडित भन्छन: हामीलाई सुरक्षित बास चाहियो सरकार ?
अछाम । गत भदौ अन्तिम साताबाट झण्डै एक हप्ता देखी परेको अविरल बर्षातले देशभरि नागरिकले नराम्रो सँग सास्ती खेप्नु प¥यो । परदेशिएकाहरु गाउँ फर्किए पनि राम्रो सँग दशै मनाउन पाएनन् । अधिकाँश परदेशीले आफन्त आर्शिवाद लिने सपना अधुरै रह्यो । बर्षात सँगै आएको बाढी र पहिरोले कसैको ज्यान लियो भने केही नागरिकको उठिवास लगायो कोही अंगभंग र घाईते भए किसानले लगाएका धानबाली बगाउनुका साथै खेतवारी बगरमा परिणत गरिदियो । बाढी र पहिरो खेतवारी मात्र वगेनन् सँगै ‘मानो रोपेर मुरी कमाउन’ किसानका सपना समेत बगायो । पहिरोले सडक अबरुद्ध भयो भने कतै भासियो । लाखौं करौडको विकासलाई बर्षातले बर्बाद बनाई दियो ।
त्यसैको एक प्रतिनिधी घटना हो सुदुरपश्चिम प्रदेशको अछाम जिल्लाको । बाढी र पहिरोले अछाम जिल्लालाई नराम्रो सँग लपट्यो । पहिरोमा परि अछाम जिल्लाका २२ जनाले ज्यान गुमाए भने अझै १ जना वेपत्ता छन् । अछाम तुर्माखाँद गाउपालिका ५ काँडाचौरमा बस्ती माथिबाट आएको पहिरोमा दुई घर पुरिदा एकै परिवारका ९ जनाले ज्यान गुमाए । पहिरोले घर र मानिस मात्र पुरिएनन काँडाचौर बासीका सपना समेत पुरिदियो । अन्न उत्पादन गरेर भोक मेटाउने खेतबारी,खानेपानी, सिचाई समेत बगायो ।
पहिरोमा परि छोरी गुमाएकी अछाम तुर्माखाँद गाउँपालिका ५ कि ३५ बर्षिय मनसरा शाहीका आँखा अझै ओभान छैनन् । बारम्बार आँखाबाट आँशु छचल्कि रहन्छन । बेला बेला छोरी सम्झनाले उनलाई पिरोलि रहन्छ । कतिबेला छोरी आएर आमा भनेर बोलाउँछकी झै लाग्छ । पहिरोले घर पुरिएको वरिपरि घुम्छन । तर सदाका लागि विदा भएकी छोरी भने कहाँ बोल्थिन र ।

तस्बिर : भक्त बहादुर शाही
आकाशमा बादल लाग्ने वित्तिकै तुर्माखाँद ५ का काँडाचौरबासीको मन झसङ हुन्छ । अझै पनि भदौं ३१ पहिरोले जस्तै आएर पुरिदिनेको होकी भन्ने चिन्ताले पिरोल्न छाडेको छैन । ३ महिनादेखी आफन्त गुमाएका आँखा ओभान छैनन् । परिवारका सदस्य गुमाएकाहरु छरछिमेकीको घरमा सहारा लिएर बसिरहेका छन् । स्थानीय सरकार र केही गैरसरकारी संस्थाले आफन्त गुमाएकालाई राहत दिनु मात्रै आफ्नो काम हो भनेर चुपचाप छ । आफन्त गुमाएका पहिरो पिडित आफुहरुलाई सुरक्षित ठाउँमा राख्नुपर्ने उनीहरुको भनाई छ ।
मनसरा शाही मात्र होइन,आमा बाबु र बहिनी गुमाएका रुपेन्द्र शाहीको पिडा मनसराको भन्दा कम छैन । रुपेन्द्र काठमाण्डौं र भाई सुर्खेत भएकाले मात्र बाँचे । आमा बाबु बहिनी गुमाएर दुईभाई मात्र रहेको पिडा सुनाउँदा रुपेन्द्र भावुक बने । भाईको लागि सरकारले केही गरिदेओस भन्ने उनको भनाई छ ।
खेतबारीबाट राम्रो उत्पादन हुने जमिन पहिरोले बगाएर लगेपछि काँडाचौरबासीलाई छाक टार्न मुस्किल छ । पहिरोले पिउने पानी बगाउँदा अभाव छ भने अझै पनि बालबालिका मुर्छिन राती उठेर घर बाहिर जाने गर्छन । बालबालिकामा पहिरोले नराम्रो छाप छोडेको उनीहरु बताउँछन् । केही दिन अगाडी आएको भुकम्प गर्दा घरमा चिराचिरा परेको लक्ष्मी कुमारी शाहीले बताईन ।
पहिरो पिडितले राहत पाए पनि जीवन बाँच्नको लागि सुरक्षित स्थानमा बसोबास व्यवस्थापन गर्न माग रहेको छ । गाउँखेत लगायत ११५ जोखिममा छन भने २५ घर उच्च जोखिममा छन् । आफन्त घरमा सहारा लिएर बसेका पहिरो पिडित भन्छन,हामीलाई छिटो बासको व्यवस्था होस ।
पहिरो पिडितका लागि गृह मन्त्रालय बैकल्पिक उपायका केही दिनमा घर निर्माण गरिदिने अपुग रकम पालिकाले सहयोग गर्न गाउँपालिका अध्यक्ष डम्बरबहादुर विसीले बताउँछन् । सुरक्षित बासस्थानका साथै उनीहरुका लागि रोजगारी र आर्यआर्जनका क्रियाकलाप गरिने अध्यक्ष विसीको भनाई छ ।
गाउँको सिंहदरबार पिडित परिवारलाई केही दिनका लागि राहत उपलब्ध गराएपनि ती पालिकामा पिडितको लागि दिगो व्यवस्थापन गर्न गाउँका सिंहदरबारसँग योजना छैन । गाउँका सिंहदरबार पिडितका दुखी रहेको घाउमा मलम लगाई सुरक्षित बासस्थान व्यवस्थापन लागि छिटो पहल गर्नुपर्ने देखिन्छ भने आफन्त गुमाएका परिवार सदस्य मुर्छिन राती सुतेबेला घरबाहिर जाने उनीहरुका लागि मनोसामाजिक परामर्शको उत्तिकै आवश्यक छ ।
घर भत्किएकालाई १४ हजार सहयोग हस्तान्तरण
अविरल बर्षातले घर भत्किएका अछाम तुर्माखाँद गाउँपालिका ७५ घरधुरीलाई जनही १४ हजार रुपैयाँ नगद राहत हस्तान्तरण गरिएको छ । ९ जनाले ज्यान गुमाएका तुर्माखाँद गाउँपालिका ५ काँडाचौरका पहिरो पिडित सहित पालिका भरिका बर्षातले घर भत्किएका ७५ जनालाई नगद प्रतिव्याक्ति १४ हजार गरि जम्मा १० लाख ५० हजार नगद राहत हस्तान्तरण गरिएको हो ।
यसअघि गाउँपालिकाले मृतक परिवारलाई जनहि ५० हजार र किरिया खर्चस्वरुप २५ हजार रुपैयाँ गाउँपालिकाले उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विसीले जानकारी दिए । डिसिए नेपालको आर्थिक सहयोगमा सोसेकले ती पहिरो पिडितलाई सहयोग गरेको थियो । राहत स्वरुप नगद सहयोग पाउँदा पिडितको मुहार हँसिलो देखिन्थ्यो ।हामीलाई ढिला भएपनि सोसेक नगद सहयोग गरेको हामीले खुशी छौं,सोही ठाउँका पहिरो पिडिट दिलबहादुर शाहीले सहयोगी संस्थालाई धन्यवाद दिए ।
केही दिन अगाडी तुर्माखाँद गाउँपालिकामा आयोजित एक कार्यक्रममा सोसेक नेपालका उपाध्यक्ष कवि रिजारले गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिसीलाई आइएमई नम्बरसहित सहयोग रकम प्राप्त गर्ने घरपरिवारको नामावली हस्तान्तरण गरेका थिए । सोसेक नेपालको केन्द्रीय कार्यालय रहेको दैलेखबाट बाढी पहिरो प्रभावित सबै परिवारलाई आइएमइमार्फत रकम उपलब्ध गराईएको सोसेक नेपालका उद्यम विकास अधिकृत पुस्करप्रसाद शर्माले जानकारी दिए ।
पहिरो प्रभावितहरुलाई थोरै भएपनि जीविकोपार्जनमा सहयोग पुगोस् भन्ने उदेश्यले राहतस्वरुप रकम सहयोग गरिएको संस्थाका उपाध्यक्ष कवि रिजालले बताए ।
