गुराँस गाउँपालिका गाउँ प्रहरी भर्ना गर्दै
दैलेख । दैलेख गुराँस गाउँपालिकाले गाउँ प्रहरी भर्ना गर्ने भएको छ । पालिकाका योजना कार्यान्वयनका बेला देखिने सुरक्षा चुनौती, शान्ति, सुरक्षा र अमनचयन सार्वजनिक सम्पत्तिको रेखदेख तथा संरक्षणका लागि गाउँ प्रहरी भर्ना गरिने भएको हो ।
गुराँस गाउँ प्रहरी सञ्चालन सम्बन्धी कार्यविधि २०७९ तयार गरि माघ ११ गते बुधबार सम्पन्न हिउँदे गाउँसभाबाट समेत पारित गरेको हो । यस सम्बन्धी कार्यविधि गाउँसभाबाट पास भइसकेको भन्दै अब कार्यान्वयनमा जाने गाउँपालिकाले जनाएको छ ।
वडा नम्बर ८ का वाडा अध्यक्ष एवम गाउँपालिका प्रवक्ता दीपेन्द्र ओलीका अनुसार गाउँपालिकाको शान्ति सुरक्षा कायम गर्न गुराँस गाउँ प्रहरी परिचालन हुने छन । ‘कार्यालयमा भीड लाग्दा व्यवस्थापन गर्न होस्, अथवा गाउँको शान्ति सुरक्षा कायम गर्न किन नहोस्, त्यसमा गाउँ प्रहरीले सहयोग गर्ने छन । प्रवक्ता ओलीले भने, ‘ठूला समस्या आउँदा नेपाल प्रहरी छ, स–साना समस्या त हाम्रो प्रहरी पनि सक्रिय रहने छ ।
सानो सानो सुरक्षा चुनौती सामना गर्नको लागि नेपाल प्रहरीलाई परिचालन गर्न पालिकाले नसक्ने भन्दै अब गाउँ प्रहरी भर्नापछि पालिकाको शान्ति सुरक्षा कायम हुने ओलीले बताए । यसैबिच, गाउँसभाबाट ३४ वटा विभिन्न ऐन र कार्यविधिहरु पास गरिएको छ । गाउँसभाबाट वन व्यवस्थापन गर्न बनेको ऐन २०७९, न्यायिक समितिको ९कार्यविधि० सम्बन्धी ऐन २०७९, गुराँस कर्मचारी सेवा ऐन २०७९ पास भएको प्रवक्ता ओलीले बताए ।
