आठबीस नगरपालिकाको बजेट पूर्वाधार केन्द्रित
सुर्खेत । दैलेख जिल्लाको आठबीस नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
नगरले आइतबार नगर सभामा आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो। पालिकाले यस आर्थिक वर्षका लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेको छ।
नगरपालिकाले पूर्वाधार विकासमा विद्युतिकरणका लागि आवश्यक पहल, फोहोर व्यवस्थापनको लागि डम्फिङ्ग साइट, पिकोलघु साना तथा लघु जलविद्युत आयोजना र सौर्य विद्युतिकरणलाई जोड, सबै वडाहरुमा हेलिप्याड निर्माण, सबै वडा केन्द्रमा सडकहरुको स्तर उन्नतिमा पहल, नगर सडक गुरुयोजना बमोजिम सडक निर्माण तथा बिस्ता, बसपार्क निर्माण, प्रत्येक वडामा खानेपानी, सडक, सिचाई लगायत पूर्वाधार, नगरपालिकाको प्रशासकीय भवन निर्माणको लागि आवश्यक बजेट व्यवस्थापन, नगरपालिकामा यस अघि निर्माण सम्पन्न भएका योजनाहरूको मर्मत सम्भारको लागि मर्मत सम्भार कोष स्थापना जस्ता कार्यक्रमहरू रहेका छन्।
आठबीस नगरपालिकाको नीति तथा बजेटमा भारत र तेस्रो मुलुकमा रोजगारीका लागि निर्भर युवाहरूलाई सिप र श्रमको उपयोग गरी रोजगारी सृजन गर्ने, कृषि तथा पशुपालन पेसालाई व्यावसायिक रोजगारमूलक बनाउने, आधारभूत स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि, हरियाली आठबीस अभियान संचालन गर्ने लगायतका विषय कार्यक्रममा प्रस्तुत गरिएको छ।
शिक्षा तर्फ नगरपालिका भित्र एसइई परीक्षामा प्रथम श्रेणीमा उत्तिण हुने एक जना दलित तथा एक जना गैर दलित विद्यार्थीलाई एक/एक लाख प्रोत्साहन स्वरूप प्रति विद्यालयमा पचास हजार उपलब्ध गरिने, दिवा खाजा, सेनिटरी प्याड, छात्रवृत्ति लगायतका कार्यक्रमलाई निरन्तरता दिने बताइएको छ।
नगर सभामा नगर उपप्रमुख कल्पना थापाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा किसानका लागि प्रत्येक वडामा कृषि तथा पशु प्राविधिक पठाउने र महिला उद्यम कार्यक्रम सञ्चालन गर्ने नीति समेटिएको छ।
कृषि खेती नै पहिलो आश्रित विकल्प भएपछि त्यही पेसालाई आधुनिक र उत्पादनमुखी बनाउने नीति नगरले लिएको उपप्रमुख कल्पना थापाले बताइन्।
नगरले पर्यटन प्रवर्द्धन र सांस्कृतिक सभ्यताको संरक्षणलाई पनि प्राथमिकतामा राखेको छ। महिला तथा बालबालिकासँग उप-प्रमुखसँग कार्यक्रम ल्याउने नीति तथा कार्यक्रममा समेटिएको छ। महिलालाई नै उत्पादन, आयआर्जन र सीप आर्जनसँग जोड्न पर्ने अवस्था आएकाले नीतिमै सो कुरा उल्लेख गरिएको उपप्रमुख कल्पना थापाको भनाइ छ।
स्वास्थ्य संस्थामा औषधी र स्वास्थ्यकर्मी नियमित उपलब्ध हुने, शत प्रतिशत खोप र संस्थागत तवरले सुत्केरी गराउने ग्यारेन्टी गराउने कार्यक्रमलाई निरन्तरता दिने नीति लिएको छ। पालिकाले आफ्नो ऐतिहासिक र सांस्कृतिक परिचय खुल्ने गरी पुस्तक प्रकाशन गर्ने नीतिगत व्यवस्था गरेको छ।
नगरले आत्मनिर्भर बनाउन प्रत्येक परिवारलाई उत्पादनसँग जोड्ने नीति लिएको छ। बालबालिकालाई गुणस्तरीय शिक्षा, कृषकलाई सिप, उत्पादनमा आधारित काम र अवसरमा ध्यान दिने गरी नीति तथा कार्यक्रम सार्वजनिक गरेको नगर प्रमुख तर्क बहादुर बडूवालले बताए।
नगरपालिकाको नीति तथा कार्यक्रममा ४९ करोड ७५ लाख विनियोजन गरेको छ। आर्थिक विकास क्षेत्रमा २ करोड ४८ लाख ७५ हजार,सामाजिक विकास क्षेत्रमा ४ करोड ९७ लाख ५० हजार,पूर्वाधार क्षेत्रमा ९ करोड ९४ लाख,कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रमा २९ करोड ८५ लाख अनुमानित विनियोजन गरिएको छ।
उद्घाटन समारोहमा प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर शाही कर्मचारी कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो।
