प्रदेशका १० वटै जिल्लालाई १ करोड, मेहलकुना र दैलेख अस्पतालले थप ५० लाख पाउने
दैलेख । कर्णाली प्रदेश सरकारले कोरोना रोकथाम तथा उपचारका लागि प्रदेशका १० जिल्लालाई रु.१ करोड उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आवश्यक अक्सिजन सिलिण्डर, अक्सिजन आपूर्तिलगायतको व्यवस्थापन कर्णाली प्रदेशका १० जिल्लालाई एक करोड रुपियाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
आर्थिक मामिला तथा योजना मन्त्री एवं सरकारका प्रवक्ता विमला केसीले कोरोना रोकथाम तथा उपचारमा देखिएका समस्या समधान गर्न बजेट तत्काल जिल्लामा पठाउने निर्णय भएको जानकारी दिईन । उनले भनिन, प्रत्येक जिल्लामा एकएक करोड, प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र चौरजहारी अस्पताल रुकुमपश्चिममा थप एकएक करोड बजेट पठाइने छ भने मेहेकुना अस्पताल सुर्खेत र दैलेख अस्पतालमा ५०र५० लाख रुपियाँ पठाउने भएको मन्त्री केसीले जानकारी दिइन् ।
यस्तै बैठकले प्रदेश विपद् व्यवस्थापन कोषमा आर्थिक मामिला तथा योजना मन्त्रालयको अर्थ विविध कोषबाट ५० करोड रुपियाँ जम्मा गर्ने निर्णय गरेको छ । यस अघि प्रदेश सकारले कोरोना रोकथाम तथा उपचारका लागि विकास बजेट कटौती गरेर एक अर्बको कोष स्थापना गरेको थियो ।
मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ रोगबाट मृत्यु भएका व्यक्तिको घरपरिवारलाई एक लाख रुपैयाँ प्रदान गर्ने निणर्य समेत गरेको छ । आवश्यक कार्यविधि र मापदण्डको आधार बनाई कोभिड–१९ रोगबाट मृत्यु भएका व्यक्तिको घरपरिवारलाई एक लाख रुपैयाँ प्रदेश विपद् व्यवस्थापन कोषबाट राहत रकम उपलब्ध गराउने निणर्य गरेको हो ।
पाँच जिल्लामा अक्सिजनसहित एक सय बेड तयार गरिने
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि पाँच जिल्लामा अक्सिजनसहित १०० शैयाँको बेड तयार गरिने गरी तयारी अघि बढाएको छ । कालीकोट, दैलेख , जाजरकोट, सल्यान र रुकुमपश्चिममा अक्सिजन सहित एक सय बेड र अन्य जिल्लामा अक्सिजनसहित ५० बेड तयार गरिनेछ । प्रदेश अस्पतालमा अक्सिजनसहित पाँच सय बेडको तयार गर्ने लक्ष्य लिएको र तत्तकाल एक सय बेड थप्ने काम तीव्र गतिमा भइरहेको सरकारले जनाएको छ ।
