राउटे महामुखिया महिन शाहीको निधन
दैलेख । भ्रमणशिल जीवनयापन गर्दै आएका राउटे महामुखिया महिनबहादुर शाहीको आईतबार विहान ३ बजे ६६ बर्षको उमेरमा निधन भएको छ । लामो समय देखी ढाडको समस्याग्रत शाहीको भैरवी गाउँपालिका ३ रतुवाखोलामा निधन भएको हो । राउटे महामुखियाको निधन राउटे बस्ती यतिबेला शोकमा डुवेको छ ।
मृतक शाहीका जन्मिएका १८ सन्तान मध्ये सबै सन्तानको मृत्यु भइसकेको छ । एक वर्ष अगाडी छोरा नारायण शाहीको दैलेख नारायण नगरपालिका ८ सालखर्कमा आगलागीले छोराको मृत्यु हुँदा मृतक शाही पत्नी दुनी शाही छोराको शोकमा थिए । उनका अब श्रीमती दुनी शाही र दुई जना बुहारी छन् ।
कोइराला गाउँबाट रतुवाखोलामा बसाई सरेको पाँचौं दिन आइतबार महामुखिया निधन भएपछि राउटे बसाई सराई गर्न सुरसारमा रहेको स्थानीयबासी बताउँछन् । मान्छे मर्ने वित्तिकै त्यो ठाउँमा आफुलाई नफापेको भन्दै राउटेको पुर्खादेखी बसाई सराई गर्ने परम्परा छ ।
सामाजिक सुरक्षा भत्ता वितरणमा सहजताका लागि दैलेखको गुराँस गाउँपालिका ८ नं वडाका बासिन्दाका रुपमा ५ वर्ष अघि सबैलाई परिचयपत्र बितरण गरिए पनि २–३ महिनामा बसाई सर्ने राउटे समुदाय दैलेख, सुर्खेत, जाजरकोट, सल्यानसम्म २–३ घण्टाको पैदल दूरीमा बस्ती गर्ने गर्दछन् ।
राउटे समुदायले आफ्ना कोही सदस्यको मृत्यू भएमा पहिले सर्ने ठाउँको प्रवन्ध गरी मृतकको शव गाड्ने गर्दछन् । आफ्ना सदस्य गाडेको ठाउँमा फर्केर कुनै बेला पनि बस्ती नसार्ने परम्परा छ । फिरन्ते जीवन बिताइरहेको राउटे समुदाय नेपालका एक मात्र यस्तो विशेषताको समुदाय हो ।
बस्ती सार्ने, चाडपर्व मान्ने, सिकार गर्ने, बस्ती छोडेर कहिँकतै जान पर्दा मुखियाको अनुमति चाहिन्छ । खेतीपाती गर्ने, बस्ती बस्ने, पैंसा चलाउन, पढ्ने लेख्ने काम गर्नुहुदैन भन्ने पुरातन मान्यता भएका राउटे समुदायले चोट पटक लाग्दा औषधि गर्ने गरेका, किनेर खान सजिलोको लागि भनेर सामाजिक सुरक्षा भत्ता लिन स्वीकार गरे पनि बस्ती बस्न र खेतीपाती गर्न इन्कार गरेका छन् । दैलेखको भैरवी गाउँपालिका ३ को रतुवा सैनचौरमा बसोबास गरिरहेका राउटेको १ सय ४१ जनसंख्या रहेको छ ।