कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुग्यो ३८८ जना संक्रमित
दैलेख । विश्वव्यापी फैलिएको कोभिड १९ बाट दैलेखमा थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाटीकाँध गाउँपालिका ५ का ३२ बर्षिय युवक र सोही गाउँपालिका वडानं ३ की ५२ बर्षिया एक महिला हुन् । दुवै जनाको मृत्यु दैलेख अस्पतालमा भएको हो ।
संक्रमित युवालाई अस्पताल पु¥याएको एक घण्टामै उपचारको क्रमममा मृत्यु भएको आइसोलेसन अस्पतालमा कोरोनाका बिरामीहरुको उपचारमा खटिएकी डा. सुशिला कटुवालले जानकारी दिइन् । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि ती युवालाई ठाटीकाँध गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा पु¥याईएको थियो । त्यहाँ गरिएको एन्टिजेन परीक्षणमा ती युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य केन्द्रले रिफर गरेपछि दैलेख अस्पतालको आइसोलेसनमा ल्याई पु¥याएको मृतकका आफन्तले बताए ।
यस्तै बुधवार राती नै ठाँटीकाँध गाउँपालिका–३ विशालाका ५२ बर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले बताए । कोरोना संक्रमित भएर श्वासप्रश्वासमा समस्या भएर चारदिनदेखि आइसोलेसन उपचाररत ती महिलाको मृत्यु भएको हो ।
यो सँगै जिल्लामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । यस्तै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ हजार १ सय ७० पुगेको छ । बुधवार थप १५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले बताए ।
निमित्त स्वास्थ्य सेवा व्यवस्थापक रेग्मीका अनुसार हालसम्म १ हजार ७ सय ६६ जना कोरोेनाका बिरामी निको भईसकेका छन् । अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या ३ सय ८८ जना छ । ती मध्ये दैलेख अस्पतालको आइसोलेसनमा ३३ जना कोरोनाका बिरामी उपचाररत छन् भने ३ सय ५५ जना कोरोनाका बिरामी घरमै छन् ।
