घर भत्किदा एकको मृत्यु
दैलेख । बर्षातले घर भत्किँदा दैलेखमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भैरबी गाउँपालिका–२ रावतकोटस्थित बालेसैनीकी ६२ बर्षीया लक्ष्मी थापा हुन् ।
बर्षातले घर भत्किदा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरिक्षक ईन्द्रजित सुनारले जानकारी दिए ।
अबिरल बर्षातले दुई तले मुण्डा घरको (माटोले छाएको घर) बरण्डा भत्काएको प्रहरीले जनाएको छ । लक्ष्मीका तीन जना नातीनतिना र छोरालाई भने सकुशल रहेको प्रहरी निरिक्षक सुनारले बताए । घरमा लक्ष्मी सहित तीन नातीनतिना र एक छोरा थिए ।
घर भत्किँदा च्यापिएर ज्यान गुमाएकी लक्ष्मी केहि दिनअघि देखि ज्वरो आउने लगाएतका स्वास्थ्य समस्याले थलिएकी थिइन् । शुक्रवार विहान स्थानीय एक मेडिकलमा सामान्य चेकजाँच र उपचार गरेर घर फर्किएकी थिइन् । मेडिकलबाट फर्किएर घरको बरण्डामा बसेकी लक्ष्मी एक्कासी घरको बरण्डा भत्किँदा च्यापिएकी थिइन् ।
दैलेखमा बिहीवार रातीदेखि अबिरल बर्षात भईरहेको छ । बर्षातका कारण केहि सडकहरुमा क्षती पुगेको र अन्य स्थानीयमा कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ ।
