कर्णाली प्रदेशका ७ जिल्लामा टाइफाइड विरुद्वको खोप लगाईदै
सुर्खेत । कर्णाली प्रदेशका ७ जिल्लामा १६ देखि ४५ वर्ष उमेर समूहलाई टाइफाइड विरुद्वको खोप लगाइने भएको छ । १७ कार्तिकमा १ सय ५४ जनाको ज्यान लिने गरी जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावित जाजरकोट र रुकुमपश्चिमका छिमेकी जिल्लाहरु सुर्खेत, दैलेख, सल्यान, जुम्ला र कालीकोटमा खोप अभियान सञ्चालन गर्न लागिएको हो ।
भूकम्प प्रभावित क्षेत्रमा टाइफाइड, निमोनिया, दादुरा–रुबेला लगायत अन्य सरुवा रोगको जोखिमलाई मध्यनजर गर्दै पहिलो चरणमा पुस १२ देखी १५ र पुस २१ देखि २४ गतेसम्म दोस्रो चरणमा खोप अभियान सञ्चालन गरिने जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले जानकारी दिए ।
उनका अनुसार भुकम्प प्रभावित क्षेत्रमा सरसफाईका कारण देखिन सक्ने स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै राष्ट्रिय खोप समितिको सिफारिसमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा खोप अभिायन सञ्चालन हुन लागेको उनले बताए ।
उच्च ज्वरो आउने, जाडो हुने, टाउको दुख्ने, पखाला लाग्ने, सुख्खा खोकी, पेट दुख्ने, पखाला लाग्ने, भोक नलाग्ने र वाकवाकी लाग्नु टाइफाइडका लक्षण रहेको गौतमले जानकारी दिए ।