चर्चामा रहेकाे मनमोहक चौमुखेघर
दैलेख । फोटैमा हेर्दा नि हेरिरहुँ जस्तो, जो कसैको मन जित्ने मनमोहक यो गाउँको मनघर हो । दैलेख सदरमुकामदेखि पूर्वी क्षेत्रमा पर्ने भगवतीमाई गाउँपालिका–४ मा रहेको यो मनघरका नरेन्द्रजंग शाहीको हो । २७ वर्ष अघि बनेको यो घर मध्यपहाडी राजमार्ग नजिकै रहेकोले आउजाउ गर्नेहरु टक्क रोकिएर हेर्छन्, कोहीले २ मिनेट पैदल हिंडेर घरको फोटोसमेत खिच्ने गरेका छन् ।
सुयडा र कचाली लेखको काखमा बसेको मनघर गाउँ पूर्णतया पश्चिमतर्फ फर्किएको छ । खासगरी घर छाउने पत्थरको खानी र सुन्दर घरहरु नै मनघर गाउँको परिचय हुन् । सफा र चिटिक्क परेका मौलिकशैलीमा निर्माण गरिएको घरहरु मनमोहक देखिन्छन् ।
जिल्ला सदरमुकाम दैलेखबजारदेखि ३५ किलोमीटर मध्यपहाडी राजमार्गको मनोरम यात्रापछि मनघर गाउँ पुग्न सकिन्छ । मनघर गाउँकै पहिचान थप उचाई थप्ने घर बनेको डौंरी टोलको चारै दिशा दैलो भएको चौमुखे घर ।
नरेन्दजंग शाहीको चारमुखे घर पछिल्लो समय चौतर्फी चर्चा बटुलिरहेको छ । त्यसो त मनघरमा थुप्रै मौलिक शैलिका घरहरु अरु नभएका हैनन् तर चार मुखे र दश पाखो भएको घर अरुहरुको छैनन् ।
उमेरले ८१ बर्ष पार गरेका नरेन्द्रजंग र उहाँकी धर्मपत्नी नन्दादेवी शाही घरमा बास्दै आएकी छन् । उनका पाँच छोरा, चार छोरी गरी नौ सन्तान छन् । चार छोरीहरुको विवाह भइसकेको छ । जेठो छोरा छुट्टिएर अलग्गै घर बनाइसकेकाले बाँकी चार छोराका लागि उनले यो घर बनाउका हुन् । चारै छोरा दैलादैलाबाट निस्कियौंन भन्ने ठानेर चार मुखे घर बनाएको नरेन्द्रजंगको बताउँछन् ।
चार दैला कुरुन भनेर घर बनाएका उनले भने, ‘छोराहरु रोजीरोटी, व्यापार वा काम विशेषले सहरतिर छिरे । उनीहरुका पनि आफ्नै परिस्थितिले सहर पसे, घर कुर्न हामीले परेको छ । चाडपर्व र कुलायन पुजाको बेला बाहेक अरु बेला घर सुनशान नै हुन्छ ।’
१६ कोठा, एक मुख्य दलानसहित ११ ढोका, ४० झ्यालसहित ५१ वटा साना ठुला भ्mयाल ढोका छन् । तत्कालिन समयमा करिव ६ देखि ७ लाख लागत हाराहारीमा खर्च भएको नरेन्द्रजंगले बताए । स्थानीय प्रेमबहादुर र धनबहादुर बुढाहरुले यो घर निर्माण गरेका थिए ।
दुर्गम गाउँहरुमा सडक संजालको पहुँच पुगेसंगै पक्की अर्थात कंक्रिट, सिमेन्ट, सरियाको घर बनाउने होडको बिचमा आकर्षक शैलिमा मौलिक घर बनेको देख्दा घर हेर्न आउनेको संख्या बढ्दो छ ।
“देउला डाडा होस् या कालिका मन्दिर नजिक गाडी रोकियो भने घर हेर्न आए भनेर थाहा हुन्छ” नन्दादेवी शाहीले भनिन्, “पहिले पहिले हेर्न आउदैन थिए आजकल घरमै पनि आउने गरेको छन् ।” यो बाटो भएर हिड्ने हरकोहिले घर हेर्न आउने र बिभिन्न किसिमको जिज्ञासा राखेको देख्दा खुशी लाग्छ ।”
चारमुखे घर चारै तर्फबाट हेर्दा एकै खालको देखिन्छ । स्थानीय कालिगड, स्थानीय स्रोत, स्थानीय पत्थर, स्थानीय चुन र माटो सबैै स्थानीय नै हुन् । शैलीको हिसावले मौलिक मात्र हैन वैधिक बिधि अनुसार निर्माण गरिएको छ ।
घरकोे मूलद्वार उत्तरपूर्व राखेर निर्माण गरिएको । उत्तरदिशा हिमाल, शीतलता, कुबेरको निवासस्थल, लक्ष्मी वा धनधान्यको स्थान हो । त्यस्तै पूर्व दिशा ज्ञान, विवेक, सभ्यता केन्द्र मानिन्छ ।
सूर्यको प्रकाश पुगेको ठाउँमा भूतप्रेत वा नकारात्मक तत्वको बास हुँदैन भन्ने मान्यता अनुरुप निर्माण गरिएको छ । लामो र छोटो दिनका दौरान हरेक कोठामा सूर्यको प्रकाशलाई पुग्ने गरी घरको डिजाइन गरिएको छ ।
चाडपर्वको बेला घरमा रमझम र भरिभराउ हुने गरेको भएपनि शाही दम्पतिको बढ्दो उमेर र लाखापाखा लागेको सन्तानका कारण घर जीर्ण प्रायः बन्दै गएको छ । स्थानीय मुलबाटोलाई थप व्यवस्थित गर्न सक्ने हो भने आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने स्थानीयको विश्वास छ । (गाेरखापत्र दैनिकमा पत्रकार विशाल सुनारले लेखेकाे याे समाचार साभार गरिएकाे हाे ।)
