एनआरएनए अष्ट्रेलिया: युवा संयोजकमा पुकार घिमिरेको दाबी
अष्ट्रेलिया । अष्ट्रेलियामा रहेका नेपाली समुदायको साझा संस्था एनआरएनए अष्ट्रेलियाको आगामी २०२५–२०२७ कार्यकालका लागि राष्ट्रिय युवा संयोजक पदमा पुकार घिमिरेले उम्मेदवारी घोषणा गर्नुभएको छ।
नेपाली युवा समुदायका सक्रिय अभियन्ता घिमिरेले यसअघि नेशनल यूथ फोरम सचिव र स्पोर्ट्स कोअर्डिनेटर (क्विन्सल्याण्ड) को जिम्मेवारी सम्हाल्दै महत्वपूर्ण अनुभव र नेतृत्व प्रदान गर्दै आउनुभएको छ। युवा सम्बन्धी विषयमा गहिरो समझ, सकारात्मक दृष्टिकोण र समर्पित भावनासहित अघि बढ्न लाग्नुभएको घिमिरेले अबको कार्यकाललाई अझ प्रभावकारी र समावेशी बनाउन संकल्प गर्नुभएको छ।
उहाँले प्रस्तुत गर्नुभएको उम्मेदवारी घोषणामा आगामी कार्यकालमा आफूले केन्द्रित रूपमा ध्यान दिने मुख्य बुँदाहरू
-युवाबीच मानसिक स्वास्थ्यप्रति चेतना बढाउने: खेलकुद कार्यक्रम र वेलनेस सेसनमार्फत युवा वर्गलाई मानसिक सशक्तीकरणको बाटोमा डोर्याउने।
-युथ कन्क्लेवको निरन्तरता र विस्तार: युवाहरूको आवाजलाई राष्ट्रिय मञ्चमा पु¥याउने उद्देश्यसहित देशव्यापी युथ कन्क्लेवको आयोजना र नविकरण।
– राज्य र टेरिटोरीस्तरका समन्वयकर्तालाई सहयोग र सशक्तीकरण: सबै राज्यमा रहेका युवा संयोजकहरूसँग सहकार्य गर्दै स्थानीय तहमा प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने।
-दोस्रो पुस्ताका नेपाली–अष्ट्रेलियालीहरूलाई नेतृत्वमा जोड्ने: युवालाई नेतृत्व विकास र समुदायमा सक्रिय संलग्नताका अवसरहरू प्रदान गर्ने।
-बहुसांस्कृतिक तथा युवा–केन्द्रित संस्थासँग सहकार्य: साझा कार्यक्रम, परियोजना र अभियानमार्फत समावेशी र दिगो प्रभाव निर्माण गर्ने।
-खेलकुदका विविध कार्यक्रमको आयोजना: विभिन्न रुचि, क्षमता र सांस्कृतिक पृष्ठभूमि भएका युवाका लागि लक्षित खेलकुद कार्यक्रम तथा प्रतिस्पर्धाहरू आयोजना गर्ने।
उहाँले चाँडै विस्तृत कार्ययोजना सार्वजनिक गर्ने तयारीमा रहेको जानकारी दिंदै सम्पूर्ण नेपाली समुदायसँग सुझाव, समर्थन र निरन्तर हौसला प्रदान गर्न आग्रह गर्नुभएको छ।
घिमिरे भन्छन्, “युवा समुदायको शक्ति, सिर्जनशीलता र सामाजिक उत्तरदायित्वलाई संगठित रूपमा अघि बढाउने मेरो प्रयासमा तपाईंहरूको सुझाव, आलोचना र समर्थनको खाँचो छ। हामी सँगै मिलेर मात्र एक बलियो, समावेशी र सशक्त नेपाली युवा समुदाय निर्माण गर्न सक्छौं।”
एनआरएनए अष्ट्रेलियाको निर्वाचन आउँदो जुलाई २६ मा सम्पन्न हुँदैछ। युवाको प्रतिनिधित्व गर्ने संयोजक पदका लागि घिमिरेको उम्मेदवारीलाई नेपाली समुदायका विभिन्न वर्गबाट सकारात्मक चासो र समर्थन प्राप्त हुने अपेक्षा गरिएको छ।
