दैलेखमा बालिकामाथि सामूहिक बलात्कार

सुर्खेत । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकामा तीजको नाच हेरेर फर्किंदै गरेकी एक बालिकामाथि सामूहिक बलात्कार भएको आरोपमा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ। पीडित बालिकाको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक तथा सूचना अधिकारी लालबहादुर सुनारका अनुसार साउन २२ गते साँझ तीजको नाच हेर्न गएकी बालिकालाई सोही गाउँका दुई युवकले ढुंगाले हानेर घाइते पारेर बलात्कार गरेको उजुरी परेको थियो।
पक्राउ पर्नेमा चामुण्डा बिन्द्रासैनीका २३ वर्षीय गोविन्दबहादुर शाही र २५ वर्षीय खगेन्द्र भण्डारी रहेका छन्। अनुसन्धानको क्रममा उनीहरूले छिमेक गाउँकी १२ वर्षीया बालिकालाई लखेटेर पालैपालो बलात्कार गरेको तथ्य खुल्न आएको प्रहरीले जनाएको छ। प्रहरीले यस घटनाबारे थप अनुसन्धान जारी राखेको छ।