सुर्खेतमा राजश्व छलीसहित ई–भि गाडी पक्राउ

सुर्खेत प्रहरीले बिना बिल–बिजक राजश्व छली गरिएका सामानसहित एक ई–भि गाडी नियन्त्रणमा लिएको छ।
साउन २८ गते साँझ करिब ६ बजे गोप्य सूचनाका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले वीरेन्द्रनगर–११ सुब्बाकुना सडकखण्डमा सवारी चेकजाँच गर्ने क्रममा बा.प्र.०३–००१ ज.०६७६ नम्बरको ई–भि गाडी रोकेको थियो।
गाडी चालक वीरेन्द्रनगर–१० का बालकृष्ण खड्काले सवारीमा यात्रु नराखी विभिन्न सामान मात्र लोड गरेर ल्याइरहेको अवस्थामा बिल–बिजक प्रस्तुत गर्न नसकेपछि प्रहरीले गाडी तथा सामान नियन्त्रणमा लिएको हो। बरामद सामग्रीमा २० केजीको ६ बोरा पास्ता, ३० केजीको १९ बोरा चिनी, चिसो पेयपदार्थ (डिउ) ५० थान, मिक्स जुस २४ थान र काजु २० प्याकेट रहेका छन्।
उक्त सामान र ई–भि गाडीको अनुमानित मूल्य ४१ लाख १४ हजार ८८० रुपैयाँ रहेको प्रहरीले जनाएको छ। बरामद सामग्री र गाडीलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर, बाँके पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।