माहिली बहिनी थामाचौघेरा माईमा भक्तजनको भीड

सुर्खेत । बडिमालिका देवीको माहिली बहिनीको रुपमा लिइने थामाचौघेरा तोलिपाटाकी माई मन्दिर दैलेखकै अग्लो स्थान महाबु पछिको दोस्रो अग्लो स्थानमा आठबिस नगरपालिका तथा ठाटिकाँध गाउँपालिकाको संगमस्थल ठाटिकाँध गाउँपालिका वडा नम्बर ५ को तोलिपाटाको लेखमा रहेकाे छ ।
शुन्दर शान्त तथा रमणिय लेकमा अवस्थित यो धार्मिक क्षेत्र एक अलौकिक धामको रुपमा समेत जनविस्वासमा रहेको छ । शक्तिशाली देवीको रुपमा अवस्थित तोलिपाटाकी माई मन्दिर क्षेत्रमा समेत श्रावण शुक्लपुर्णिमा अथवा जनैपुर्णिमाको त्रियोदशीको राति देखी चतुर्थिका दिनमा विषेश पुजाआजा र मेला लाग्ने गर्दछ ।
बडिमालिका देवीको माहिलो बहिनीको रुपमा बढिडमालिका जान नसक्ने भक्तजनहरुले थामाचौघेरा तोलिपाटाकी देविको पुजाआजा र दर्शन गरेमा सम्पुर्ण मनोकामना पुरा हुने उद्धेश्यका साथ दैलेखका विभिन्न क्षेत्र साथै कालिकाेट, जुम्ला ,अछाम ,सुर्खेत , कैलाली लगाएतका अन्य जिल्लाका भक्तजनहरु उक्त क्षेत्रमा पुग्ने गर्दछन ।
त्यसो त अन्य देवी पिठ हरु जस्तै यस थामाचौघेरा तोलिपाटाकी माई देविको लागि पुग्ने भक्तजनहरुले समेत आफ्नो मनोकामना पुरा भएको बताउने गरेका छन । दैलेख लगाएत छिमेकी जिल्लाबाट देवी दर्शनका लागि पुग्ने भक्तजनहरुले निशन्तानको लागि सन्तान , अन्नपात, धनजन लगाएत निरोगिताको लागि बरदान माग्ने र आफुले मनले चिताएको पुगेको भन्दै खुशी व्यक्त गरेका छन ।
ठुलो कुरा त के छ भने अथाह शक्ति र विश्वासको रुपमा रहेको उक्त देविधामको मन्दिरको समेत निर्माण पुरा हुन सकिरहेको छैन । परापुर्व कालमा सामान्य ढुंगाको पर्खाल भित्र पुजाआजा हुने गरेको भएपनि यस अघि मन्दिर निर्माणको लागि गरिएको सिमित लगानीले मन्दिर पुरा निर्माण हुन सकिरहेको छैन । निर्माणाधिन मन्दिर भित्रै पुजाआजा गर्ने काम गरिएको छ । भने देविधामको समग्र विकासमा भने यतिबेला सम्म कसैको ध्यान र चासो गएको छैन । दशौँ हजार भक्तजनहरुले पुजाआजा गर्ने उक्त क्षेत्रमा सामान्य २ वटा धर्मशालाको निर्माण भएपनि त्यसले आवश्यकता पुरा गर्न सकिरहेको छैन ।
अर्कोतर्फ त्यस क्षेत्रमा पिउने पानी र शरिर शुद्ध गर्ने पानी लगाएत शौचालय लगाएत घाम र पानीमा ओत लाग्ने प्रतिक्षालय र ठुलो धर्मशालाको समेत अभाव छ । जसका लागि मन्दिर क्षेत्रमा पुग्ने भक्तजनहरुका लागि देवी मन्दिर लगाएत अन्य संरचनाको अभावलाई पुर्णता दिनको लागि यतिबेलाको स्थानिय तह देखी मन्दिर व्यवस्थापन समितिले काम गरिरहेको र निकट दिनहरुमा पुराहुने आशा गर्न सकिन्छ ।
केहि देविधाम र देवधामहरुमा बलि चढ्ने गरेको भएपनि शुद्ध फलफुल र दुध मात्र चढाईने यस थामाचौघेरा माई मन्दिर धाममा ठुलो उपस्थितिमा भक्तजनहरुले पुजाआजा गर्ने प्रचलन दिनप्रतिदिन बढि रहेको मात्र छैन देवीमाँको शक्ति र विश्वास समेत बढ्दै गईरहेको छ । बडिमालिका देवि लगाएत अन्य शक्ति पिठहरु जस्तै यस क्षेत्रको विकासमा समेत जनप्रतिनिधिहरु र राज्यको ध्यान जानु अति आवश्यक छ ।