बालविवाह कसूरमा १ वर्ष कैद, १० हजार जरिवाना
दैलेख । १७ वर्षीया युवतीलाई बलात्कार गरेको भनी दिएको उजुरी बालविवाहमा परिणत भएको छ । दैलेख जिल्ला अदालतले आइतबार डुंगेश्वर गाउँपालिका–४ अवलपराजुलका २१ वर्षीय विकास कार्कीलाई एक वर्ष कैद र १० हजार रुपैंयाँ जरिवाना गरेको छ ।
पीडित पक्षले बलात्कार भएको भनी उजुरी गरेकोमा घटनाक्रमले बालविवाह ठहर भएको भन्दै न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासबाट उक्त सजाय भएको अदालतका सूचना अधिकारी नासु गणेशप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
अदालती तहकीकातबाट ती युवती र आरोपित युवकको प्रेम सम्वन्धपछि परिवारको सहमति बिनै विवाह गरेको विषयलाई युवती अभिभावक बलात्कारको मुद्दा हालेका तर तथ्यप्रमाणले बालविवाह ठहरेको फैसलामा उल्लेख छ । युवती अभिभावककै संरक्षणमा छिन् र कसूरदार युवक कारागार थुनामा छन् ।
०८१ फागुन २३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २४ गते जिल्ल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दिएको थियो । उजुरीका आधारमा प्रहरीले फागुन २६ गते गिरफ्तार गरेको थियो । उजुरी परेकै दिन फागुन २४ गते युवतीको स्वास्थ्य परीक्षण दैलेख अस्पतालमा भएको थियो।
०८१ चैत १५ गते जिल्ला सरकारी वकील कार्यालय मार्फत दैलेख जिल्ला अदालतमा जबरजस्ती करणी सम्बन्धी अभियोग दर्ता भएकोमा भोलिपल्ट चैत १६ गते जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासबाट पुर्पक्षका लागि दैलेख कारागार पठाउने आदेश भएको थियो ।
