Skip to main content
२०७८ श्रावन २१, बिहिबार

सम्झनामा उकालीमुणमा उक्लीने धानका थैला

दैलेखको आठबिस क्षेत्रको तीनतोलीका धेरै गाउँहरुमा बैशाखको १० देखी २० गते भित्र धानको बिउ रुजाउने (भिजाउने) गरिन्छ । राम्रोसँग सुकाएर केलाईएको धानको बिउलाई ठुल–ठुला तामाका ताउलाहरुमा रुजाउने गरिन्छ । रुजाउनु पर्ने धेरै बिउ भए अल्लोबाट बनेका थैलाहरुमा राखेर खोलाका खालमा पाँच दिनसम्म राखिन्छ । बिउलाई घर भित्रको न्यानो ठाउँमा राम्रोसंग फिजाएर वा थुप्रो लगाएर त्यसलाई असुरोको पातले छोपेर माथीबाट बाक्लो कपडाले दुई दिन सम्म छोपेर राखिन्छ । यसरी बिउ राख्ने बिधिलाई खात हाल्ने भनिन्छ । यसो गर्दा बिउमा राम्रोसंग टुसाँ पलाउँछ । त्यसपछि बिउ राख्न लाई तयार पारीएका बेर्न्याटा (बिउ राख्ने) गह्राहरुमा लगेर छरिन्छ । बैशाखको १५ देखी २५ गते भित्र बिउ राख्ने काम सम्पन्न भई सक्छ । बेर्न्याटाको उचित हेरचाह र समय समयमा पानी थप्ने तथा बदल्ने काम गरिन्छ । बेरन्याटाहरुका बिचबिचमा मसिना मसिना काठका झिजा ठोकीएका हुन्छन । ती झिजाहरुमा बस्ने रंगीन ड्रागन प्mलाईलाई त्यहाँ बिउकी गोठाली भनेर माया गर्ने चलन छ । गाईभैसी तथा बाख्राहरुबाट बिउ जोगाउन गएका केटाकेटीहरु ती ड्रागन प्mलाईसंग रमाएर खेल्ने गर्दछन ।

दैलेखको दुल्लूनगरपालिकामा ३ खरायाखेत नेपालमा गोरु जोत्दै एक कृषक । तस्वीर : विशाल सुनार


जेठको अन्तिम सातादेखी असारको पहिलो हप्तामा रोपाई सुरु हुन्छन । धान रोपिने खेत जोतीसकेपछि मल बोकेर एकनास छरिन्छ । मल माटोमा मिलाईसकेपछि ती गह्राहरुमा पानी भरिन्छ र दाँते लगाएर सम्याईन्छ । रोपाईका लागी बिउ उखेलेको बिउका मुठा पारिएका हुन्छन । यहाँ बिस मुठा बिउलाई एक हातो भन्ने गरिन्छ । एक दिन मा एक जना रोप्नेरी (धान रोप्ने महिला) ले एक हातो बिउ रोप्छन । त्यसैगरी यहाँ एक पाथी (चार माना) धान बाट एक हातो बिउ उम्रिने हिसाब राखिएको हुन्छ । रोपाईँ सुरु गर्ने पहिलो दिनलाई डाङ्ली सार्ने भनिन्छ । रोपाईमा हल गोरु जोत्ने र मई (काठको दाह्रा भएको खेत सम्याउने साधन) लगाएर खेत साईने (सम्याउने) हली, खेतको हल गोरुले जोत्न नमिल्ने र अग्लो भाग खनेर मिलाउने बाउस्या (बाउसाले खन्ने) र खेत रोप्ने रोप्न्यारीहरुका साथै बिउ बोक्ने र पु¥याउने मानिसहरु समाबेश हुन्छन । डाङली सार्ने दिन घरमुली तथा मान्यजन लाई रोप्न तयार गरिएको गह्राको पाँगो माटोको टीका र धानको बिउबाट बनाईएको आकर्षक भुरुली लगाएर रोपाई सुरु गरिन्छ । यसै गरी रोपाई सुरु गर्नु अगाडी रोपाई मा सरिक भएका सबैले एकापसमा पाँगोको टीका लगाउँछन ।

तस्वीर :विशाल सुनार ।


रोपाईखेत नजिकैको बाटो भएर गाउँठाउँको चिनीएको कोही मानिस आउदै गरेको देखिएमा उस्लाई सम्मान स्वरुप पाँगोको टीका र भुरुली दिने चलन छ । यसरी आप्mनो सम्मान मा पाँगोको टीका र भुरुली पाउने मानिसले पनि रोप्न्यारीहरुका लागी बिंडी, चुरोट र नगदै भए पनि उपहार दिने मान्किलो परम्परा रहेको थियो । रोपाई मा आलोपालो पणिम (पर्म) प्रथा थियो । अन्न ज्याला दिएर पनि रोपाईमा कामदार लगाउने चलन थियो । रापाईमा रोप्न्यारी, हली र बाउस्यालगायत ले एक अर्कामा हिलो छ्पापेर रमाईलो गर्ने तथा रोप्न्यारीहरुले रोपाईमा अवाली (रोपाई गीत) गाउने गितहरु समेत गाउने गर्दथे । रोपाईमा गाईने अवालीको भाका र तिनको शब्द र गाथा पनि फरक किसिमको हुने गर्दछ । अवाली विवाहा र छैठीमा गाईने धमारी र चुटकीलाको भाखा जस्तै भाखामा गाउने गरिन्छ ।

लागीगै असार मास खेत रोपाईअ
सेरालीको डाङली सराई देउन आसीका ।
दिनबार दाईना भया छैट लागुन धान
देवीदेउता दाईना भया पैठ लागुन धान ।
हली बाउस्या दाईना भया व्याह्या लागुन धान
दाईना भया बल्ल बाबा जुगै भरी खान ।
रोप रोप रौप्न्यारीऔ डाङली सराइ छ
निको मान्या हली बाउस्या दुख नमान्या ।
निको मान्या संगी सात्याउ अब घर जाउ ।
छकालको डाङली सराई बासा मेटौला
आउदा साल ईनु दिन फेरी भेटौला ।

तस्वीर : विशाल सुनार ।


(डाङली सराइ = रोपाईँ, आसीका = आर्शिवाद, दाईना = शुभ, छैट = छैटी, लागुन = लागन ÷प्रयोग हुन, पैठ = देवताका पर्व, बाउस्या = खेतमा बाउसो खन्ने मानिस, हली = हल गोरु चलाउने मानीस, व्याहा = विवाह, बल्ल = गोरु, जुगै = युगसम्म, रोप्न्यारी = रोप्ने महिलाहरु, निको मान्या = राम्रो मानीदिनु, संगी सात्याउ = साथीभाई, छकाल = बिहान, बासा = साँझ, मेटौला = सकौला, आउदा साल = अर्को बर्ष, ईनु दिन = यिनै दिनमा¬)
भोली रोपाईहुने दिनको अघिल्लो राती गहुँको पिठो मुछेर राखिन्छ । त्यही राती कला (सानो केराउ) समेत तातो पानीमा भिजाएर राखीन्छ । बिहान सबेरै घरका छोरीबुहारीहरुले रोपाईका लागी रोटी पकाउँछन । भिजाएर राखीएका कलामा काटेर सुकाईएका पिंडालुका चाना, आलु, बोडी र सिमी मिसाएर फलामको ठुलो डिब्या मा पकाउँछन । फलामको भाँडामा रापीलो आगोमा पकाईएको निकै बाक्लो र गाढा रंगको तरकारीलाई घिउ र ददु (प्याजी लसुन) ले झानिएको हुन्छ । मगमग बास्ना आउने फक्क पुलेका बाक्ला रोटी र त्यस्तै मिठो र स्वादिलो तरकारी सहितको खाना र दिउसोको खाजाले रोपाईमा सहभागी सबैलाई उर्जा र फुर्ती दिने गर्दछ । यहाँका रोपाईहरुमा अक्सर गरेर यस्तै किसिमको खाना र खाजा दिने गरिन्छ । खाना र खाजामा दही, घिउ र मोही समेत हुन्छ ।
परिवारको जेठो, मुखिया र जिउमुवालको सम्मनानमा उनीहरुको कुनै एउटा ठुलो खेत बेठीमा रोपाई गर्ने चलन थियो । बेठीको रोपाईमा जस्को खेत हो उस्ले रोपाई का दिन रोपाईमा सहभागीहुने सबैलाई खसी काटेर मासु सहित खाना र फाँको (दिउसोको खाजा) दिने चलन थियो । बाजागाजा बजाएर निकै रमाईलो गर्दै गरिने यस्तो रोपाईमा गाउभरीका सबै सहभागी हुने र उनीहरुले रोपाईमा सहयोग गरेवाफत कुनै किसिमको ज्याला नलिने चलन थियो ।

दिउँसोको खाजा खाँदै दैलेख पाँचालाका बाउस्या र रोप्नेरी । तस्वीर : रण तिरुवा


गाउँघरमा कसैको आप्mनो रोपाईका लागी घरमा हल गोरु, कामगर्ने मानिस र ज्याला दिने आर्थिक अवस्था समेत नहुन सक्छ । यस्ता कमजोर अवस्थाका मानिसको रोपाई गाउँभरीका मानिसहरु मिलेर गरिदिन्छन । यसरी सहयोगका लागी गरीने रोपाईलाई यहाँ झाणा रोपाइँ भनेर भनिन्थ्यो । यस्तो रोपाईमा जस्को रोपाई हो उस्ले घरमा भए सम्म उसले आप्mनो रोपाईमा सहभागीहरुलाई खसी काटेर मासु सहित को खाजा खुवाउने चलन थियो ।
रोपाई सकिने दिनको अन्तिम रोपाईलाई पुर्छ्या (पुछार) भनेर भनिन्थ्यो । यो दिनको रोपाई पनि बिशेष हुने गर्दथ्यो । ठुलो गह्राको बिचमा गोलो गरेर केही मुठा बिउ राख्दै कोठी बनाईन्थ्यो । रोपाई गितहरु गाउदै एकापसमा रमाईलो गर्दै त्यो बर्षको रोपाई सकिन्थ्यो । जिउलाभरी एकसाथ सुरु भएका रोपाईहरु लगभग एकसाथ सकिने गर्दथे । जस्को रोपाई सबैभन्दा ढिलो सकियो उसको रोपाई लाई मैझाणो रोपाई भनेर सघाउदै त्यो बर्षको गाउभरीकै रोपाई सक्ने चलन समेत थियो ।
असोजको मध्यदेखी यहाँका खेतबारीहरुमा धानका बाला पहेल्पुर झुलेर पाक्न थाल्दछन । धानपाकेपछि राम्रो दिनबार हेरेर धान काट्न सुरु गरिन्छ । काटेका धानहरु मिलाएका लिहिनहरुमा समानान्तर राखेर सुकाईन्छ । काटेका धानहरु सुकिसकेपछि कुन्यु लगाईन्छ । मंसिरको महिना दाँहा (दाई) हाल्ने गरिन्थ्यो । धान दाई हाल्ने समय त्यहाँका गाउँहरु उत्सवमय हुने गर्दथे । दाई हाल्ने अघिल्लो दिनमा खल्यागणा (धान दाई गर्ने गणो) को दाई हाल्न आवश्यक पर्ने जती भागका धानका ठुँटाहरु हटाएर लिपपोत गरेर भुई पुरै सुखाईन्थ्यो । धेरैजसो धानखेतहरु बस्तीहरु भन्दा अलि टाढा र अझ तल खोला र गाणका किनारमा हुने गर्दछन । धान धेरै र दाई हाल्ने गह्रो ठुलोभएमा दुईतीन हलगोरु संगै नारेर दाई हालीन्छ । दाई हाल्ने दिनहरुमा खल्यागणाका अली परका गह्राका पाटाहरुमा केटोटीहरु पाटेभात पकाउछन । पाटाहरुमा पकाईने हुनाले पाटेभात भनिएको हुनुपर्दछ । पाटेभात को परम्परा बाट बनभोज को सुरु भएको हुन सक्दछ ।

दिउँसोको खाजा खाँदै दैलेख पाँचालाका बाउस्या र रोप्नेरी । तस्वीर : रण तिरुवा

दाहीहाले पछि धान सुपाले बताउदै थैलाहरुमा भरिन्छ । यि थैलाहरु माथी घरसम्म पु¥याउन बलिया युवायुवतिहरुको प्रतिस्पर्धा नै हुने गर्दछ । फलानाले यति पाथीको थैलो त्यहाँ सम्म बोक्यो । फलानीले यती पाथीको थैलो त्यहाँ सम्म पुर्याई यस्ता मानकहरु दाई हाल्ने बेला निर्धारण हुन्थे । यस्ले ती गाउँहरुमा त्यो बेलाका बलशाली युवायुवतीहरुको पहिचान समेत कायम हुन्थ्यो । खेतबाट धानका थैलाहरु परिबारका सदस्यहरुले आफै, छिमेकमा एक अर्काको मिलेर, आफन्तको सहयोग लिएर र ज्यालामा कामदार लगाएर ल्याउने गरिन्छ । धान घरमा ओसारी सकेको केही समय पछि पराल बोक्ने काम सुरु हुन्छ । यसरी घरमा बोकीएको पराल लाई जमिनको सतह भन्दा केही अग्लो टाँण बनाएर राख्ने गरिन्छ ।
हिउँदमा खेत मल्याउन पशुहरु खेतमा राखिने हुनाले केही पराल खेतमा नै राखिन्छ । घरमा लैजाने परालका गिल्टा बाँध्ने गरिन्छ । चार, छ र आठ गिल्टासम्मका परालका भारी बनाएर बोक्ने गरिन्छ । मंसिर पौष महिनाका उजेली रातहरुमा धान र परालका भारी बोक्दै खेतहरु र भिरालो बाटोमा हिडिरहेका मानिसहरुका लष्कर निकै राम्रा देखिन्थे । घरमा ल्याईको धान बाँसका ठुला डोईला र मान्द्राका भकारीहरुमा राखिन्थ्यो । सडक नपुगे सम्म यहाँका गाउबस्तीहरबाट धान, चामल र गहुका थैलाहरु माथील्ला बस्तीहरुमा बोकेर लिएको देखीन्थ्यो । ठाँटीकाँध बाट दह हुदै तिलेपाटा सडक पुगेपछि टाँक्या दहको बजार बाट चामलका थैला उकालीमुड हुँदै तल झरेको देख्दा २०६९ सालतिर मैले ती चामल बोक्नेहरुलाई हिजो यो बाटोमा धान, चामल र गहुँ उभो जान्थ्यो अहिले उँधो जान थालेछ नी भनी सोधे । उनिहरुले यहाँका कामगर्न सक्ने धेरै मानिसहरु बिदेशिएकाले कृषिका लागी श्रम नपुगेको बताए । गाउँबस्ती सम्म सडक पुगेकाले तयारी चामल टाँक्या दहका बजारमा पुगेको र बिदेश बाट पठाएको पैसाले त्यही चामल किनेर तल गाउँतिर लैजान सुरु भएको कुरा उनीहरुले मलाई बताए । स्थानीय खाद्य सुरक्षा, परम्परागत धानका बिउको संरक्षण, कृषि भुमीको प्रयोग र स्थानिय स्तरमा रोजगारी श्रृजनाका लागी समेत अब स्थानीय देखीका तहगत सरकारहरुले यहाँको धानखेती अभिबृद्दिका लागी प्रोत्साहन मुलक कार्यक्रमहरु किसानका स्तरमा पु¥याई लागु गर्नु पर्ने देखिन्छ ।


(लेखक शाही कर्णालीको सामाजिक तथा सांस्कृतिका बिबिधताका अध्येता हुन )

No Comments yet!

Your Email address will not be published.


%d bloggers like this: