ठाटिकाँध गाउँपालिकामा पालिका स्तरीय बाल भेला सम्पन्न
दैलेख । ठाटिकाँध गाउँपालिकामा महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजना तथा सोसेक नेपालको सहकार्यमा पालिका स्तरीय बाल भेला भव्य रूपमा सम्पन्न भएको छ। बालबालिकाको अधिकार संरक्षण, सहभागिता र नेतृत्व विकासलाई संस्थागत गर्ने उद्देश्यसहित उक्त कार्यक्रम आयोजना गरिएको हो।
भेला ठाटिकाँध गाउँपालिकाका उपाध्यक्षको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, पदाधिकारी, कर्मचारी, विभिन्न विद्यालयका शिक्षक, सामाजिक संघ–संस्थाका प्रतिनिधि तथा सरोकारवाला निकायको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा बालमैत्री स्थानीय शासन प्रवर्द्धन, बालबालिकालाई नीति निर्माण तथा निर्णय प्रक्रियामा अर्थपूर्ण रूपमा सहभागी गराउने विषयमा विस्तृत छलफल गरिएको थियो। सहभागी बालबालिकाहरूले आफ्ना अधिकार, समस्या र अपेक्षाबारे खुला रूपमा धारणा राख्दै स्थानीय तहका योजना तथा कार्यक्रममा बालमैत्री दृर्ष्टिकोण अपनाउनुपर्ने आवश्यकता औंल्याएका थिए।
भेलाको अवसरमा पालिकास्तरीय बाल क्लब पुनः गठन गरिएको छ। पुनः गठित बाल क्लबको अध्यक्षमा सरोज शाहीलाई चयन गरेको छ। शाहीको अध्यक्षतामा १४ सदस्यिय कार्यसमिति चयन गर्नुका साथै आबाश्यक सल्लाहा सुझाबको लागि ३ सदस्यिय सल्लाहाकार समिति चयन गरेको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख गिता नेपालिले जानकारी दिनुभयो । नयाँ कार्यसमितिले बाल अधिकार संरक्षण, बालश्रम न्युनिकरण, विद्यालयमा बालमैत्री वातावरण निर्माण तथा सामाजिक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।
कार्यक्रमका अध्यक्ष एबम् गाउँपालिका उपाध्यक्षले बालबालिका समाजका महत्वपूर्ण सरोकारवाला भएको उल्लेख गर्दै उनीहरूको आवाजलाई स्थानीय सरकारका नीति, योजना र कार्यक्रममा समेट्न गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले बाल क्लबलाई थप सक्रिय र प्रभावकारी बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

सोसेक नेपालका प्रतिनिधिले संस्थाले बाल अधिकार संरक्षण, सहभागिता र सशक्तीकरणका क्षेत्रमा गर्दै आएको कामबारे जानकारी गराउँदै आगामी दिनमा पनि ठाटिकाँध गाउँपालिकासँग सहकार्य गर्दै प्रभावकारी कार्यक्रम सञ्चालन गरिने विश्वास व्यक्त गर्नुभयो।
सहभागी बालबालिकाहरूले यस्ता भेलाले आफ्नो क्षमता, आत्मविश्वास र नेतृत्व विकासमा सहयोग पुगेको भन्दै समाज परिवर्तनका लागि सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका थिए।
