समाचारप्रति गाउँपालिकाको आपत्ती
दैलेख । नौमूले गाउँपालिका दैलेखले अनलाइन सञ्चार माध्यममा गाउँपालिकाका अध्यक्ष भदे वुढा मगर विरुद्ध भ्रामक समाचार सम्प्रेसण गरेको भन्दै गाउँपालिकाले आपत्ती जनाएको छ । गाउँपालिकाको साउन २२ गते वसेको कार्यपालिका वैठकले भ्रामक समाचार सम्प्रेसण गर्ने एकअनलाइन विरुद्ध आपत्ती जनाउँदै कानुनी उपचारका लागि अगाडि वढ्ने निर्णय गरेको हो ।
उक्त अनलाइनले यहि साउन २१ गते नौमूले गाउँपालिकाका अध्यक्षलाई आधारहिन मानहानी र व्यक्तिगत आँच आउने गरी समाचार प्रकाशन भएको भन्दै उक्त समाचारले नौमूले गाउँपालिकाको सिंगो नेतृत्वलाई नै आँच आएको र मानहानी भएकाले समाचारप्रति कार्यपालिकाले घोर आपत्ती जनाएको छ ।
उक्त अनलाइनमा समाचार लेख्ने व्यक्तिको पहिचान गरी आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय समेत गरेको गाउँपालिकाका प्रवक्ता गगन बहादुर रोका मगरले वताए ।
प्रवक्ता रोकाले सम्बन्धित व्यक्ति तथा निकायसँग कुराकानी नगरी एकतर्फि रुपमा समाचार सम्प्रेसण गर्दा आम नागरिकमा नकारात्मक सन्देश जाने र जनप्रतिनिधीको चरित्र हत्या हुने देखिएकोले कानुनी उपचारमा जाने निर्णय गरिएको वताए । गाउँपालिकाले साउन २२ गते प्रेस विज्ञप्ती जारी गर्दै समाचारको विषयमा घोर निन्दा गरेको छ ।
सो समाचारको विषयलाई लिएर गाउँपालिकाले कानुनी उपचारका लागी आवशयक सहयोग गर्न नेपाल पत्रकार महासंघ दैलेख शाखालाई अनुरोध समेत गरेको छ । साथै कानुनी उपचारका लागी साउन २३ गते जिल्ला अदालत दैलेखमा मुद्धा दायरका लागी जिल्ला प्रहरी कार्यालय दैलेखसँग कानुनी प्रक्रियाका विषयमा आवश्यक राय सुझाव लिईने गाउँपालिका अध्यक्ष भदे वुढा मगरले जानकारी दिए ।
विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) का वेला गाउँपालिकामा हुन सक्ने खाद्य जोखिमलाई मध्यनजर गर्दै सरकारले सहुलियतमा वितरण गर्दै आईरहेको चामल खाद्य संस्थानवाट खरिद गरी गाउँपालिकाले सःशुल्क तथा निःशुल्क वितरण गरेको थियो । महामारीका वेला हुन सक्ने खाद्य जोखिमलाई मध्यनजर गरी केहि वोरा चामल गोदाममै संचित गरि राखिएको नौमूले गाउँपालिका दैलेखका निमिक्त प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र शाहीले वताए ।
समाचार आरोप लगाए जस्तो नभई संचित गरि राखिएको थियो । गाउँपालिकाका निमिक्त प्रमुख प्रशासकीय अधिकृत शाहीले भने, ‘गोदाममा राखिएको चामल मध्ये गुणस्तरहिन भए सार्वजनिक मुचुल्का उठाई नष्ट गर्ने र गुणस्तरयुक्त चामल प्रयोगमा ल्याईने छ ।’
