कर्णालीमा कोभिड : भदौ महिनाको ७ दिनमा ६ को मृत्यु, ४७७ संक्रमित
कर्णालीमा कोरोना कहर
सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस ९कोभिड–१९०का कारण ७ दिनमा ६ जनाले ज्यान गुमाएका छन्। भदौ महिनाको १ गते ७ गतेसम्ममा ६ जनाले ज्यान गुमाएका हुन्।
स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रविन खड्काका अनुसार भदौ १ गते जुम्लाका एक जनाको कोरोना संक्रमणका कारण ज्यान गएको थियो ।
भदौ २ गते प्रदेशमा मृत्युदर शुन्य भयो भने ३ गते २ जना कालिकोट र एक हुम्लाको गरी ३ जनाले ज्यान गुमाएका छन् ।
यस्तै भदौ ४ र ६ गते पनि कसैले ज्यान गुमाएका छैनन् भने ५ गते सुर्खेतका एक जना तथा भदौ ७ गते सोमबार पनि सुर्खेतका अर्को एक व्यक्तिले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्।
कर्णालीमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३६५ पुगेको छ।
४७७ जना संक्रमित
स्वास्थ्य निर्देशनालयका अनुसार भदौ महिनाको ७ दिनमा प्रदेशभर ४७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जुन अघिल्लो महिनाको संक्रमण दर भन्दा केही कम हो । साउन महिनामा उकालो लागेको संक्रमणदर भदौ महिना सुरु भएदेखि केही मात्रामा कमी आएको देखिन्छ। पछिल्लो २४ घण्टामा प्रदेशभर ३५ जनामा कोरोना संक्रमण देखिएको छ भने ७७ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन् ।
यस्तै प्रदेशभर सक्रिय संक्रमितको संख्या ७८७ मा झरेको छ ।
