पेट्रोलियम पदार्थको मूल्य बढेपनि निगमलाई अझै घाटा, १५ दिनमै ९६ करोड घाटा
काठमाडौँ । सबैखाले पेट्रोलियम पदार्थको मूल्य बढेपनि नेपाल आयल निगम अझै ९६ करोड रुपैयाँ घाटामा रहेको छ ।
हिजो राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएपछि प्रत्येक १५ दिनमा निगमले करिब एक अर्ब रुपैयाँ घाटा व्यहोर्ने भएको हो ।
डिजेल, पेट्रोल र खाना पकाउने ग्यासको व्यापारमा उक्त रकम घाटा भएको निगमले बताएको छ । जसमध्ये सबैभन्दा बढी एलपी ग्याँसमा ६२ करोड रुपैयाँ नोक्सान भएको छ ।
निगमले डिजेल/पेट्रोल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ । मूल्य बढेपछि पेट्रोलमा प्रतिलिटर ८।४२ रुपैयाँ र डिजेलमा २।६ रुपैयाँ घाटा हुने निगमले जानकारी दिएको छ । यस्तै, खाना पकाउने ग्यासमा २५ रुपैयाँ मूल्य बढेपछि प्रतिसिलिन्डर ४२० रुपैयाँ ७५ पैसा घाटामा रहेको बताइएको छ ।
१५ दिनको अवधिमा पेट्रोलमा १९ करोड, डिजेलमा १९ करोड र एलपी ग्यासमा ६२ करोड २२ लाख रुपैयाँ घाटा भएको निगमले जनाएको छ ।
