ओली यतिखेर ‘दुःखी’ किन् ?
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी एकता बचाउन नसकेकोमा दुःख व्यक्त गरेका छन् ।
उनले पार्टीको एकता बचाउनका लागि कोशिस गर्दागर्दै पनि पार्टी विभाजित भएकाले आफूलाई दुःख लागेको बताएका हुन् ।
अध्यक्ष ओलीले माधव नेपालप्रति कटाक्ष गर्दै एमाले फुटाउन सांसदहरुलाई घर–घरबाट थुतेर चन्द्रागिरिमा लगेर थुनेको आरोप पनि लगाए ।
अध्यक्ष ओलीले आफ्नो कार्यकालमा ल्याएको अध्यादेश र वर्तमान सरकारले ल्याएको अध्यादेशमा धेरै भिन्नता रहेको बताए ।
उनले आफूले देश र जनताको हितका लागि, सांसदहरुको अधिकार रक्षाका लागि संविधानको मर्मअनुसार नै राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको दाबी गरे ।
तर, अहिले ल्याइएको अध्यादेशमा भने कुनै दललाई फुटाउन, कसैलाई सजिलो पार्नका लागि अध्यादेश ल्याउने क्रममा नै राजनीतिक दलसम्बन्धी अध्यादेशमा ‘केन्द्रीय सदस्य वा संसदीय दलको २० प्रतिशत’सम्बन्धी प्रावधान राखिएको उनलको दावी थियो ।
ओलीले पार्टीको आन्तरिक विवाद समाधानका लागि १० बुँदे प्रस्तावलाई सिर्जनात्मक ढंगले लागू गर्दै अब पार्टीको समग्र ध्यान विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशनमा केन्द्रित हुने उल्लेख गरे ।
उनले लामो समयदेखि जारी समस्यालाई समाधान गर्दै पार्टीलाई एकताबद्ध बनाउन अनेकौं प्रयास भएको जिकिर गर्दै पार्टीलाई विभाजित हुन नदिए थप सुदृढ बनाउन सकारात्मक योगदान गर्ने कार्यदलका सदस्य एवं अन्य सबै नेतालाई धन्यवाद दिए ।
ओलीले पार्टीलाई वैचारिकरूपमा स्पष्ट, संगठनात्मकरूपमा चुस्त, भावनात्मकरूपमा एकताबद्ध गर्ने साझा लक्ष्यप्रति आफू प्रतिबद्ध रहेको बताए ।
लोकतन्त्रका आधारस्तम्भका रूपमा रहेका पार्टीहरु विभाजित हुँदा मूल्य सिंगो प्रणाली र राष्ट्रले नै चुकाउनुपर्ने अतीतका अनुभवहरू स्मरण गर्दै उनले भने – ‘एमालेबाट अलग्गिएर छुट्टै दल दर्ता गरेका नेता÷कार्यकर्तालाई असफलता अवश्यम्भावी छ ।
हानिकारक बाटो छाडेर पार्टीको मूलघरमा फर्किन स्थायी कमिटीले औपचारिक आह्वान गरेकाले पार्टीमै फर्किएमा विगतका कुनै क्रियाकलाप या गतिविधिलाई लिएर कुनै पूर्वाग्रह राखिने छैन ।’
