माधव नेपालको ठोकुवा : हिम्मत नभएका लतारिन्छन हामी क्रान्तिकारी अघि बढ्छौँ
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले हिम्मत नभएकाहरु अरुको पछि लतारिने तर क्रान्तिकारीहरु अघि बढ्ने बताएका छन्।
नयाँ पार्टी दर्ता भएपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै नेता नेपालले यस्तो टिप्पणी गरेका हुन्।
लामो समयसम्म आफ्नो समूहमा रहेर अन्तिम समयमा साथ नदिएका नेताहरुप्रति लक्षित गर्दै नेता नेपालले भने, ‘हिम्मत नभएकाहरु अरुको पछि लागिरहन्छन्। अरुको पछि लतारिन्छन्। क्रान्तिकारीहरु अगाडि बढ्छन्। इतिहासमा यस्तो हुनेगर्छ। यो कम्युनिष्ट पार्टी पुनर्गठनको योजना हो।’
एमालेमा पीडित भएका देशभरका कार्यकर्ताहरुले आफूलाई साथ दिइरहेको नेता नेपालको भनाइ छ।
उनले भने, ‘एमालेमा पीडित भएका सबै मेचीदेखि महकालीसम्मका, तराईदेखि पहाडसम्मका सबै कार्यकर्ता हामीसँग छन्। स्थानीय तहका नेता कार्यकर्ता समावेश हुँदै गएका छन्। लामो यात्रामा कोही आउँछन्, जान्छन्, कोही थाक्छ्न्।’
केपी ओलीले पार्टीलाई मृत अवस्थामा प¥याएपछि विद्रोह गर्नुपरेको उनले बताए। उनले देशभरका नेता कार्यकर्तालाई ओली गुटबाट बाहिर निस्केर क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणमा जुट्न आह्वानसमेत गरेका छन्।
नेपालमा फुटेर गएको पार्टी सफल हुँदैन भन्नेहरुतर्फ लक्षित गर्दै उनले भने, ‘कसैलाई के लागेको छ भने– अर्को पार्टी गठन गरेर पार लाग्दैन, त्यस्तै मान्यता राख्नेहरुले नेपालमा राजतन्त्र ढाल्न सकिन्न भन्थे।’
नेता नेपालले पार्टीमा नयाँ संस्कारको विकास गर्ने दावीसमेत गरे। उनले भने, ‘हाम्रो पार्टीमा ओलीले खोजेको जस्तो संस्कार हुनेछैन। जबज आत्मसात गर्नेछौँ। स्वार्थको लागि लाग्ने व्यक्तिहरुको झुण्ड हुनेछैन। कुनै नेताको प्रशंसा गर्ने भजनमण्डली बन्ने छैन।’
