कांग्रेस सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच अपरान्ह भेटवार्ता हुँदै
काठमाडाैं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता हुने भएको छ ।
पार्टीको क्रियाशील सदस्यता सम्बन्धी विवाद तत्काल टुंगो लगाई पार्टीको महाधिवेशन समयमै सम्पन्न हुने गरी प्रक्रिया सुरु गर्न दबाब दिँदै आउनुभएका वरिष्ठ नेता पौडेलले आज (शुक्रवार) अपरान्ह सभापति देउवासँग भेट गर्ने समय मिलाउनु भएको हो ।
शुक्रबार बिहान चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको आफू पक्षीय नेताहरुको बैठकको निर्णय अनुसार उहाँले पार्टी सभापति देउवासँग भेट गरी पार्टीको क्रियाशील सदस्यतासम्बन्धी बाँकी विवाद तत्काल टुंगो लगाई महाधिवेशनको प्रक्रिया छिटो शुरु गर्न दबाब दिन लाग्नुभएको नेता डा. मिनेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।
बैठकमा पार्टीका जिल्ला सभापतिहरुको माग अनुसार छिटो क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गरी महाधिवेशनको प्रक्रिया सुरु गर्न सभापति देउवालाई दबाब दिने निर्णय गरिएको थियो । नेता रिजालले भन्नुभयो, ‘एकातिर क्रियाशील सदस्यता सार्वजनिक गर्नुपर्छ भन्ने विषय छ भने अर्कोतिर समयमै अधिवेशन प्रक्रिया शुरु गरेर जानुपर्नेछ । त्यसैले यी व्यवहारिक कठिनाइहरुलाई समाधान गरेर महाविधेशन सम्पन्न गर्ने बाटोको खोजी गर्नुपर्छ भन्ने निष्कर्ष निकालिएको छ ।’
