आलमको मुद्दामा सुनुवाई किन भएन ?
काठमाडौँ । पूर्वमन्त्री महोम्मद अफ्ताब आलमको मुद्दाको पेसी पुनस्पछि सरेको छ।
शुक्रबाका लागि तोकिएको पेसीमा सुनुवाइ हुन नसकेको हो। सर्वोच्च अदालतले आलमको मुद्दा न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र प्रकाशकुमार ढुंगानाको इजलासमा तोकेको थियो।
विपक्षीका कानुन व्यवसायीले सुनुवाइ स्थगितको माग गरे अनुसार आजको सुनुवाइ हुन नसकेको हो। रौतहटको इट्टा भट्टामा मानिस जलाएर मारेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका उनले त्यसको विरुद्ध निवेदन दिएका थिए। उनको मुद्दाको पेसी १५ दिन पछि सरेको हो।
यसरी भएको थियो नरसंहार
२८ चैत ०६४ मा हुन लागेको पहिलो संविधानसभा चुनावमा मोहम्मद अफ्ताब आलम रौतहट– २ बाट कांग्रेसका उम्मेदवार थिए। जसरी पनि चुनाव जित्न उनले बुथ कब्जाको रणनीति बनाए। यही योजनाअनुसार उनले भारतको बिहारबाट बम बनाउने कालिगढ झिकाए। बम बनाउने कारखाना भने आफ्ना काका शेख इद्रिसको गाईगोठलाई बनाए।
भारतीय कालिगढसँगै स्थानीय युवा पिन्टु भनिने त्रिलोकप्रताप सिंह र मोहम्मद ओसी अख्तर पनि बम बनाउन सहयोगीका रूपमा खटिए। २७ चैत ०६४ को साँझ गोठमा बम बनाइँदै थियो। तर, असावधानीले अचानक बम विस्फोट भयो। केही युवा घटनास्थलमै ढले, घाइतेहरू ज्यान बचाउन भाग्न थाले।
चुनावको अघिल्लो साँझ भएको यो घटना सार्वजनिक हुन नदिन आलमका सहयोगीले घाइतेलाई उपचारका लागि अस्पताल लैजानुको सट्टा समातेर बेहोस हुने इन्जेक्सन दिए।
त्यसपछि उनीहरूलाई बोरामा प्याक गरे र ट्र्याक्टरमा खाँदेर नजिकै रहेको आलमका भाइ महताबको इँटाभट्टामा पुर्याए।
सशस्त्र प्रहरीको स्कर्टिङमै ट्र्याक्टर इँटाभट्टा पुर्याइएको थियो। त्यसपछि घाइतेहरूलाई भट्टीमा हालियो। सिंगै शरीर नछिरेका घाइतेलाई बन्चरोले गिँडेर भट्टीमा हालियो। सबैलाई खरानी पारी प्रमाण नष्ट गरियो। बम विस्फोटको १२ वर्षपछि ०७६ असोजमा रौतहट प्रहरीले नयाँ शिराबाट अनुसन्धान थाल्यो।
प्रहरीको सक्रियतापछि पीडितहरूलाई पनि बोल्ने साहस आयो, उनीहरूले प्रहरीमा जाहेरी दिए। त्यसकै आधारमा २६ असोज ०७६ मा आलम पक्राउ परे। जिल्ला अदालत रौतहटको आदेशपछि आलम अहिले पुर्पक्षका लागि नक्खु कारागारमा छन्, तर उनको आतंक अझै जारी छ। विस्फोटमा ज्यान गुमाउनेमध्येका पिन्टु भनिने त्रिलोकप्रतापका बुबा श्रीनारायण सिंह अझै कानुनी लडाइँमा छन्।
