डरकै बीच अफगानिस्तानी महिलाको बयान– भागेर जाने प्रवृत्ति छाडौँ
अलजजिरा । तालिबानले पुनः सत्ता नियन्त्रण गरेपछि डर र अनिश्चितता हुँदाहुँदै किन एउटी अफगान महिलाले आफ्नो घर छोड्न अस्वीकार गरिन् ।
(अगस्ट १५ मा तालिबानले अफगानिस्तानको राजधानी काबुलमाथि नियन्त्रण जमायो र झण्डै २० वर्षपछि पुनः सत्ता कब्जा ग¥यो । त्यसयता ९० को दशकको जस्तै कठोर शासन फर्कने र महिलाहरू विद्यालय र काम गर्न जान नपाउने सम्भावित डरका कारण हजारौँ मानिसहरूले देश छोडेका छन् । तर केहीले अफगानिस्तानमा नै रहने संकल्प गरेका छन् । २८ वर्षीया नादिमाको परिवार उनी बच्चै छँदा पलायन भए । वयस्क भएपछि उनी फर्किइन् । अहिले डरत्रास र अनिश्चितताका बाबजुद पनि उनले फेरि देश छोड्न अस्वीकार गरेकी छन् । यो उनको कथा हो, उनकै शब्दमा)
…
मैले मेरा आफन्तका छोराछोरीसँग (कज्नहरूसँग) कुराकानी गरे । उनीहरू छोरीहरूसँग यहीँ अफगानिस्तानमा छन; साँच्ची नै डराएका छन् । यसले मलाई धेरै नै भावुक बनायो, तर म ठिक छु ।
म कहीँकतै जाँदै छैन ।
जस्तोसुकै परिस्थिति भए पनि कस्सम म कतै जाँदिन ।
म यहीँ जन्मे, यहीँ मर्नेछु/यहीको माटोमा मिल्नेछु ।
किन ? म तपाईंलाई भन्छु, यो भागेर जाने प्रवृति तोडिनुपर्छ ।
म प्रत्येक व्यक्तिसँग कुरा गर्न सक्दिन । मैले विदेशमा भएका अफगानीहरूलाई हामी यहीँ रहन्छौँ भन्न प्रयास गरेँ । उनीहरू धेरै दुःखी भए र मलाई ब्लक गरे । यसले मलाई एक्लो महशुस गरायो ।
मेरा बाबुआमाले म सानै छँदा अफगानिस्तान छोडे । उनीहरू निकै हताश हुँदै पीडैपीडामा भागे । मेरी आमाले मलाई उनीहरू कसरी पहाडहरू पार गरेर पाकिस्तान पुगे, उनीहरूलाई कुकुरहरूले कसरी खेदे र त्यसरी जाँदा खुट्टामा फोकैफोका उठे भनेर सुनाएकी छन् । उनीहरूले कयौँ दिनसम्म केही खान पाएनन्, भोकै बसे । उनीहरू भयभीत थिए, अझै लुटिए पनि ।
म त्यतिबेला बच्चा थिएँ, दुध चुसाउँदा रोइदिन्थेँ र मलाई फकाउन के गर्ने भन्ने मेरी आमालाई केही थाहा थिएन ।
त्यतिबेला मेरी आमाले यी कथाहरू सुनाउँदा म केही तालमेल पाउदिनथेँ, तै पनि म बुझ्न र समानुभूति राख्न सक्थेँ । मेरी आमाको लागि म निकै दुःखी हुन्थेँ किनभने उनी साह्रै भावुक हुन्थिन् ।
उनले यी कथाहरू दश वर्ष अघि सुनाएकी हुन् भनी विश्वास गर्न गाह्रो हुन्छ । पाकिस्तान भागेको अनुभव हामी पहिलो पटक १९९९ मा क्यानडा बसाइ सरेपछि साटिन् । हामीले दुवईको हाम्रो कदमबारे गुनासो गर्दै आएका थियौँ, जुन १४ वर्षसम्म हाम्रो घर थियो ।
मेरा आमाबाबुले भोग्नु परेको कुराहरू सुनेर म मर्माहत् भएँ ।
म १६ वर्षकी थिएँ ।
मेरी आमा मुस्कुराइन् र भनिन्, “तिमीहरू त भाग्यमानी छौ, जहाजमा आयौ, खान पाइरहेका छौ । के तिमीहरूलाई थाहा छ, म कसरी आएँ ?”
र उनी दुःखी भइन्, उनको घर फेरी एक पटक भत्किँदै थियो । “घरीघरी सर्दासर्दै थाकिसकेँ”, मेरो बाबालाई सुनाउँदै अब कहिल्यै क्यानडा छोड्दिन भनिन् ।
उनले त्यत्तिका वर्ष के गरेर पार गरिन्, अहिले म साक्षी छु र अनुभव गर्दैछु ।
साथीहरूले मलाई खानेकुरा पठाईरहेका छन्, सामानहरू पठाइरहेका छन् जो उनीहरूलाई अब आवश्यक पर्दैन, मकहाँ विरुवाहरू पठाएर बचाइराख्न भनिरहेका छन्, जसको हेरचाह गर्न उनीहरू समर्थ छैनन् ।
“अँ, विन्ती मेरो विरुवाको ख्याल गरिदेऊ है, कृपया ख्याल …”, साथीहरू भन्छन् ।
केही चिनेजानेका महिलाहरूले मलाई उनीहरूको “सान्दर्य र छाला जोगाउने” (ब्युटी एण्ड स्कीन केयर प्रडक्ट्स) सामग्रीहरू दिइरहेका छन् । बाहिर देशमा उनीहरूले ती सामग्रीहरू किन्नुपर्नेछ, या हुन सक्छ उपहारहरू पाउनेछन् ।
म एकपछि अर्को गर्दै उनीहरू गइरहेको हेर्छु ।
अर्को दिन मेरी साथीले काबुल छोड्ने तयारी गरेकीले सामान जोरजाम गर्न सहयोग गर्नैपर्ने थियो । यो निकै दुःखदायी थियो तर मैले उनलाई हेरेँ र भनेँ, “तिमीलाई थाहा छ, तिमीले छुटकारा पाउँदैछौ, अचम्मको छैन त, तिमीले दान गर्दैछौ, अहिले अरु मानिसहरूलाई सहयोग गर्दैछौ । यसलाई यसरी हेर न ।”
“यो त हो”, उनी सहमत भइन् ।
“एइ, केटी आऊ, रमाइलो गरौँ”, उनको गह्रौ भावलाई हल्का बनाउने प्रयास गर्दै मैले भने । “तिमी सामान मिलाउँदै छौ, यात्रा गर्दैछौ र तिमी आफ्नो कथा साट्न गइरहेकी छौ । तिमी भागिरहेकी छैनौ, तिमीले छोड्नै पर्छ किनभने तिमी फरक परिस्थितिमा छौ ।”
“तिमीले मलाई तिम्रो खानेकुरा दिनुपर्छ । मसँग एक साताको लागि खानेकुरा हुनेछ र मैले मेरो घरमा आउनेहरूलाई सहयोग गर्नेछु । मैले उनीहरूलाई तिम्रो नाम भन्ने छु । इतिहासमा म तिमीलाई यसरी सम्झिनेछु : ती केटी मेरोमा आइन्, मेरो प्यारो साथी, उनले छोड्दै थिइन्, मैले उनको सामान मिलाउन सहयोग गर्दै थिए र उनले आफ्ना राम्रा कपडाहरू सबै मलाई दिइन् ।”
मैले उनलाई प्रफुल्ल पार्ने प्रयास गरेँ र भनेँ, “यो सामान मात्रै त हो”, तर मैले महशुस गरेँ, सामानहरूसँग मानिसका यादहरू गासिएका हुन्छन् । उनीहरूसँग प्रियजनले दिएका उपहारहरूसँगै, सरसामानसँग पनि एकप्रकारको भावनात्मक सम्बन्ध हुन्छन् । मलाई केही जस्तो नलाग्ने कुराहरू कसैका लागि खास हुन सक्छ ।
अन्ततः मैले उनको आत्मालाई प्रफुल्ति बनाएँ ।
म अझै पनि उनको परिवार र साथीहरूका लागि उनले छोडेका सामानहरू मिलाउँदै छु, सोच्दैछु, उनीहरूले यीमध्ये केही त मूल्यवान वा काम लाग्ने पाउन सक्छन् ।
र, उनका आफन्तहरू, जो उनको धन–सम्पत्ति लिन आइरहेका छन्, अब यो उनीहरूको हो । सम्झन प्रत्येकसँग एक पल छ जब आसु झार्दै उनको कथा सुनाउँछन्, “ओह ! उनी एक असल महिला थिइन् । इश्वरले उनलाई आशीर्वादले पुरस्कृत गरुन् । उनको विश्वास बलियो बनोस् ।”
सुन्दा अचम्म लाग्छ, मानिसहरू कसरी देश छोडेर जानेहरूको बारेमा कुरा गरिरहेका हुन्छन् । “तिमीले सफलता हासिल गर्नु” भन्नुको सट्टा उनीहरू भन्छन्, “तिम्रो इमाम (आस्था) बलियो होस् ।”
धार्मिक गुनगुनका साथ बोलीने यस्तो भाषा मरणोपरांत गरिएको विदाइको जस्तो सुनिन्छ, मानौ कि ती मानिसहरूले देश छोडेका मात्र होइन, साँच्ची नै मरेका हुन् । मेरो देशमा जताततै मृत्युको डर मडारिएको छ, यसकारण मलाई आश्चार्य लाग्छ कि त्यो अवचेतन परिवर्तनको कारण बनेको छ ।
मेरा आमाबाबा म यहाँदेखि निस्किएको देख्न चाहनुहुन्छ, तर म अब उनीहरूसँग उड्नुपर्ने त्यो एक वर्षे बालक छुइँन, जो त्यतिबेला बोल्न सक्दैनथ्यो ।
म यो प्रवृतिलाई तोड्न चाहन्छु, कम्तीमा प्रयास त गर्छु ।
म यहीँ बस्न गइरहेकी छु र यो देशको लागि के गर्नु जरूरी छ भनी बोल्न मेरो समय पर्खन्छु । क्यानडाको सुरक्षाको लागि यो देश छोड्नु मलाई ठिक लाग्दैन, जुन २० वर्ष सम्म मेरो घर थियो, २०१९ मा म अफगानिस्तान नफर्किने बेला सम्म त्यहाँ बसेँ । म हजारौँ माइल टाढादेखि केवल अनलाईनमा उपस्थित भएर र सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण गरेर सीमित हुन चाहन्न ।
मलाई लाग्दैन कि म एकपटक गएपछि मेरो सन्देश उत्तिकै बलियो हुनेछ । त्यसैले म यहीँ छु । म अफगानिस्तानबाटै सामाजिक सञ्जालमा प्रत्यक्ष छलफल गर्न सक्छु, र मानिसहरूलाई मेरो देशको लागि म जस्तै मेरै देशमा बस्नुहोस् भनी आग्रह गर्न सक्छु ।
तर, मैले एक खाले भारीपन, जिम्मेवारीको भावनाको, महशुस गरेको छु, विशेषगरी केही परिवार र साथीहरूले देशमै बस्ने निर्णय गरेका छन्, त्यसैले, किनभने उनीहरूलाई मैले सान्तवना दिएँ र देश नछोड्न मनाएँ ।
“सुन त, विमानस्थल नजाऊ, तिमीहरू पीडित हुन हुनेछौ, तिमीसँग एक वर्षे बच्चा छ । म यहीँ छु, स्थिति खराब हुँदो हो त म पनि भागिसकेको हुन्थेँ”, मैले उनीहरूलाई भनेँ ।
मरो ह्रदयमा, मलाई थाहा छ स्थिति खराब हुन सक्छ, तर के थाहा राम्रो हुन पनि त सक्छ । कस्लाई के’था ?
तर एउटा कुरामा निश्चित छु कि म छोड्न गइरहेको छैन र कसैको विगतको आघातको आधारमा, उनीहरूको डरलाई आफ्नो बन्न दिएर निर्णय गर्न गइरहेको छैन ।
म आवेगपूर्ण कदम चाल्ने कहिल्यै पनि भइन । म हतारमा निर्णय गर्दिन । म सधै पछाडि बसेको छु, प्रतिबिम्बित गरेको छु, मूल्याङ्कन गरेको छु, पक्ष र विपक्षरू हेरेको छु, सम्भावनाहरूलाई तौलिएको छु–त्यसैले म त्यसलाई अहिले परिवर्तन गर्न गइरहेको छैन ।
म भीडको पछि लाग्दिन, म कहिल्यै पनि अनुयायी भइन, त्यसैले म बस्दैछु ।
नोट : आफ्ना अनुयायीहरूमाझ ‘अल्टर इगो’ पतिङ्गला काकै को रूपमा परिचित नादिना पस्तुनी सामाजिक सञ्जालमा प्रभाव राख्ने व्यक्ति हुन् । उनी निशर्त प्रेमको सन्देश फैलाउन र आधारभूत मानवअधिकारको विषयमा वकालत गर्न केन्द्रित छिन् ।
