कर्णालीका पर्यटन मन्त्रीको ठोकुवा : ओली प्रवृत्तिले नै एमाले फुट्यो
सुर्खेत । कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिँ बुढाले एमाले फुट्नको मेन कारण ओली प्रवृत्ति भएको ठोकुवा गरेका छन् ।
नेपाल पत्रकार महासंघ डोल्पाले राखेको पत्रकार भेटघाट कार्यक्रममा उनले निरंकुश प्रवृत्तिका कारण नै एमाले फुटेको बताएका हुन् ।
उनले भने,‘ आफूहरु रहरले नभई ओली प्रवृत्तिको निरंकुश कार्यशैलीका कारण बाध्य भएर अलग हुनु परेको हो।’
साथै उनले डोल्पामा रहेको ऐतिहासिक श्रीवालात्रिपुरासुन्दरी भगवती मन्दिरमा खप्तडबाबा पदमार्ग, हरित पार्क निर्माणको लागि आर्थिक वर्ष २०७७÷०७८ मा ७० लाख बजेट विनियोजन भई निर्माण कार्य भइरहेको र फोक्सुण्डो ताल, विश्वकै उच्च मानववस्ती धो उपत्यका, छार्काताङ्ग गाउँपालिकामा रहेको शे गुम्बा लगायतका प्राकृतिक र ऐतिहासिक पर्यटकीय क्षेत्रको विकासको लागि कर्णाली प्रदेश सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गरिएको मन्त्री बुढाले बताए।
जिल्लामा भित्रिएका योजनाहरुको प्रभावकारी कार्यान्वयन आर्थिक परिचालनका सन्दर्भमा स्थलगत अनुगमन र अनियमिततालाई के कसरी रोक्न सकिन्छ भन्ने सन्दर्भमा स्थानीय सराकोवालासंग सुझाव लिन मन्त्री बुढा एक साताअघिदेखि डोल्पामा छन्।
