प्रचण्डको पार्टी नेतृत्वबाट विदा हुने इच्छा
काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा समाजवादको सेना बन्नुपर्ने आवश्यकता औँल्याएका छन्। योङ कम्युनिष्ट लीग (वाइसिएल) नेपालको राष्ट्रिय भेलामा अध्यक्ष प्रचण्डले समाजवादी आन्दोलन सफल पार्न युवाको पहलकदमी आवश्यक रहेको बताएका हुन्।
उनले समाजवादको नेतृत्व गर्नेगरी युवाले क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिए। माओवादी केन्द्रले युवालाई नेतृत्वमा ल्याउन पार्टी विधानमै सबै कमिटीमा २० प्रतिशत आरक्षणको व्यवस्था गरेको उनले जानकारी दिए। आफूले केही समयपछि उपयुक्त नेतृत्वलाई पार्टी नेतृत्वको जिम्मा दिई संस्मरण लेख्न चाहेको बताउँदै युवाको नेतृत्व विकास गर्न आफू लागिरहेको उनको भनाइ थियो।
‘उमेरका हिसावले हामी ७० वर्ष आसपासमा छौं। संविधान, राष्ट्रियता र लोकतन्त्रको रक्षालाई अघि बढाउने जिम्मा अब तपाइँहरुको हो। तर तपाइँहरु नेतृत्व लिन तयार नभएसम्म छाड्न मिल्दैन,’ प्रचण्डले भनेका छन्। उनले समाजवादी आन्दोलनको तयारीका लागि तत्कालीन नेकपा (एमाले)सँग एकता गरे पनि नेतृत्वले धोका दिएकाले एकता लामो समय टिक्न नसकेको उनको तर्क थियो।
ठूलो मेहेनतले अहिलेको सत्तारुढ पाँच दलको गठबन्धन बनेको जिकिर गर्दै अध्यक्ष प्रचण्डले भने, ‘यो गठबन्धनलाई रक्षा र सुदृढ गर्नु अहिलेको आवश्यकता हो,’ उनले उहाँले अगाडि थपे, ‘अब सबै चुनौती सकियो भन्ने छैन, गठबन्धनलाई भत्काउने, पुरानै दिशातर्फ लैजाने प्रयास भइरहेको छ। यसतर्फ युवा सचेत हुन आवश्यक छ।’ अर्को प्रसंगमा उनले विज्ञान प्रविधिको उच्चतम रूप प्रयोग गरी भेला गर्न सफल भएकामा वाइसिएललाई बधाई तथा धन्यवाद व्यक्त गरे।
