महामन्त्री पदमा उम्मेदवारी दिने गगन थापाको घोषणा
काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीको आसन्न महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। सोमबार काठमाडौं कांग्रेस ३० नम्बर वडाले आयोजना गरेको कार्यक्रममा थापाले १४ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गरेका हुन्।
आफ्नो दावेदारीको आधार आफ्ना अग्रज नेता तथा कार्यकर्ता भएको भन्दै आफूले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेको थापाले बताए। थापाले आफ्नो क्षेत्रबाट प्रारम्भ गरेको काममा सफलता प्राप्त गरेको भन्दै आफ्नै ठाँउबाट उम्मेदवारी घोषणा गरेको बताएका छन्।
थापाले पार्टीभित्रको प्रतिष्पर्धामा सहयोग गर्न आग्रह गर्दै आफूले गर्न सक्ने काम गर्ने प्रतिवद्धता जनाए। १३ औं महाधिवेशनमा पनि थापा महामन्त्रीको उम्मेदवार बनेका थिए। त्यतिबेला उनले आफ्नै ससुरा अर्जुननरसिंह केसी र बीपी पुत्र डा. शशांक कोइरालासँग प्रतिष्पर्धा गरेका थिए।
त्यतिबेला उनी कृष्ण सिटौलाको टिमबाट महामन्त्रीको उम्मेदवार बनेका थिए। तर, यो पटक उनलाई महामन्त्रीको उम्मेदवार बनाउन सभापति शेरबहादुर देउवाको टिम र वरिष्ठ नेता रामचन्द्र पौडेल दुबैको टिम तयार देखिन्छ।
कांग्रेस विधानमा २ जना महामन्त्री हुने व्यवस्था छ।
