किन असन्तुष्ट भैरहेका छन् बाबुराम भट्टराई ?
काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरु मन्त्रिपरिषदलाई छिटो पूर्णता दिन सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकमा नेताहरुले मन्त्रिपरिषद् विस्तारमा ढिला गर्न नहुने बताएका छन् । यद्यपि मन्त्रालय भागवण्डाबारे छलफल नभएको नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।
सरकार विस्तारको तयारी भैरहेको बेला जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले आफ्नै पार्टी संलग्न गठबन्धनको वर्तमान सरकारप्रति असन्तुष्टि प्रकट गरेका छन्।
नेकपा एमालेबाट अलग्गिएर माधव नेपालको नेतृत्वमा गठन गरिएको नेकपा (एकीकृत समाजवादी) लाई समेत समेटेर प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरिरहेका बेला गठबन्धनमा आबद्ध जसपाका एक जना शीर्ष नेता डा। भट्टराईले असन्तोष व्यक्त गरेका हुन्।
सोमबार बिहानै सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्रीसमेत रहेका डा। भट्टराईले राजा गए पनि, ओली गए पनि कुर्सीको खेल भने जारी रहेको टिप्पणी गरेका हुन्। साथै उनले वैकल्पिक शक्तिको खोजी जारी रहेको उद्घोष पनि गरेका छन्।
‘ज्ञानेन्द्र गए, ओली गए तर कुर्सीको खेल जारी छ। भारत, खाडी पस्ने युवाहरूको लर्को जारी छ। कमिसनखोरको खेलो जारी छ। छिमेकीको हैकम जारी छ। जयसिंह धामीको बेपत्ता जारी छ। छाउपडी जारी छ। छोइछिटो जारी छ। मधेसी, थारू, जनजातिको पहिचानको खोजी जारी छ। श्रमिकको चुलो खाली छ,’ उनले लेखेका छन्, ‘अतः वैकल्पिक शक्तिको खोजी जारी छ।’
प्रधानमन्त्री देउवाले आजै (सोमबार) साँझसम्म सरकारलाई पूर्णता दिने तयारी गरिरहेका बेला डा। भट्टराईले असन्तुष्टि सार्वजनिक गर्नुलाई अर्थपूर्ण मान्न सकिन्छ। ‘कुर्सीको खेल जारी’ भनेर उनले सरकारभित्रका गतिविधिप्रति असहमति जाहेर गरेको अनुमान गर्न सकिन्छ।
