मन्त्रालयको भागबण्डा भोली फाईनल होला त ?
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारमा अब ढिलाइ गर्न नहुने बताएका छन्। सोमबार सत्तारुढ गठबन्धनको बैठकपछि आयोजित पार्टी स्थायी समिति बैठकमा प्रचण्डले मन्त्रिपरिषद् विस्तारमा भएको बिलम्बले नकारात्क सन्देश प्रवाह भएकोले चाँडै मन्त्रिपरिषद् विस्तार हुने बताए।
सत्तारुढ गठबन्धनले मंगलबार मन्त्रालय भागबण्डा टुंगो लगाउने पनि उनले बताए। ‘मन्त्रिपरिषद् विस्तारमा भएको बिलम्बले जनतामा नकारात्क सन्देश प्रवाह भइरहेको छ। अब यसमा ढिलाइ गर्न हुन्न भन्नेमा सबैको सहमति छ। भोलि बिहान यसको टुंगो लगाउँछौं,’ प्रचण्डको भनाई उद्धृत गर्दै बैठकमा सहभागि एक स्थायी समिति सदस्य भने।
ती स्थायी समिति सदस्यका अनुसार प्रचण्डले मंगलबार बिहान आफूलगायत प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव बसेर कसले कति मन्त्रालय पाउने भन्ने टुंगो लगाउने सहमति भएको जानकारी गराए। मंगलबार कसले कति र कुन मन्त्रालय पाउने भन्नेबारे सत्ता गठबन्धनका शीर्ष नेताहरुले टुंग्याएपछि मात्रै दलहरुले सरकारमा आफ्नो पार्टीका तर्फबाट कसलाई पठाउने भन्नेमा केन्द्रीत हुने ती नेताको भनाइ छ।
उनले भने, ‘अहिलेसम्म कसले कति र कुन मन्त्रालय पाउने भन्ने टुंगो नलाग्दा कसलाई सरकारमा पठाउने भन्नेबारे ठोष छलफल गर्न सकिएको छैन।’ यसका साथै बैठकमा सरकारको काम कारवाही प्रभावकारी बनाउन दबाब दिन आवश्यक रहेको स्थायी समिति सदस्यहरुले बताएका छन्।
