एकीकृत समाजवादीबाट मन्त्री बन्ने सूचीमा को-को ?
काठमाडौं। सत्तारुढ गठबन्धन मन्त्रिपरिषद् विस्तारको अन्तिम गृहकार्यमा छ। गठबन्धनका शीर्ष नेताहरुबीच मन्त्रिपरिषद्लाई छिट्टै पूर्णता दिने समझदारी भइसकेको छ। गठबन्धनमा रहेका दलहरुबीच मन्त्रालय भागबण्डाको विषयमा अन्तिम सहमति हुन बाँकी छ। यद्यपि कुन दलले कति मन्त्रालय पाउने भन्ने विषयमा मोटामोटी सहमति भइसकेको छ।
स्रोतका अनुसार नेकपा एकीकृत समाजवादीले विभिन्न ६ मन्त्रालयको जिम्मा पाउने लगभग निश्चित भएको छ। एक राज्यमन्त्री सहित ६ मन्त्रालय एकीकृत समाजवादीको भागमा आउने बताइन्छ। समाजवादीका एक केन्द्रीय सदस्यका अनुसार समाजवादीको तर्फबाट मन्त्री बन्नेको नाम लगभग टुंगो लागिसकेको छ। यद्यपि आकांक्षीहरु बढेपछि अन्तिम निर्णय गर्न बाँकी रहेको ती नेताले बताए।
मन्त्री बन्नेमा हालसम्म जीवनराम श्रेष्ठ, विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झांक्री, किसान श्रेष्ठ र प्रेम आले मगरको नाम अघि सारिएको छ। ती नेताले भने, ‘६ जनाको नाममा लगभग सहमति भएको छ। अब निर्णय गर्न बाँकी छ।’
मन्त्री बन्ने आकांक्षीहरुको नाम धेरै भए पनि वरिष्ठता, भूगोल, समावेशिता लगायतलाई आधार मानेर मापदण्ड बनाइएको ती नेताले अन्नपूर्णलाई बताए। सम्भावित मन्त्रीहरुको नामबारे अध्यक्ष माधव नेपाल सहित स्थायी समितिका नेताहरूले समेत निर्णायक छलफल गर्दैछन्।
सम्भावित मन्त्रीमध्ये श्रेष्ठ पूर्व एमालेमा छँदादेखि नै माधव नेपालका निकट मानिन्थे। राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव बनिसकेका उनको राजनीतिक भूगोल काठमाडौं हो। यस्तै विरोध खतिवडा मकवानपुरबाट निर्वाचित सांसद हुन्।
चौधरी दाङबाट निर्वाचित सांसद हुन्। नेकपा (एस) निर्माण प्रक्रियामा उनी सक्रिय थिए। यस्तै लामो समय विद्यार्थी राजनीतिबाट आएकी झाँक्री समानुपातिक तर्फको सांसद हुन्। प्रेम आले र किसान श्रेष्ठ भने यसअघि एमालेमा छँदा केपी ओली निकट मानिन्थे। डोटीबाट निर्वाचित आले ओली नेतृत्वको सरकारमा वन मन्त्री समेत थिए। तनहुँबाट निर्वाचित किसान लामो समय ओली निकट नेताको रूपमा चिनिन्थे।
