चीन सीमामा भारतले गर्यो लाइभ फायर अभ्यास
एजेन्सी। भारत र चीनबीच विगत एक वर्षदेखि लद्दाख सीमामा तनावको स्थिति छ ।
यसैबीच बिहीवार भारतीय सेनाले लद्दाखमा लाइभ फायर अभ्यास गरेको छ । फायर यान्ड फ्युरी कोर्प्सको अगुवाइमा यो युद्धाभ्यास गरिएको हो । समुद्र सतहबाट १५ हजार फीटको उचाइमा सेनाले युद्ध तयारीको परीक्षण गरेको हो ।
पीआरओ डिफेन्स श्रीनगरका तर्फबाट ट्विटरमा यस अभ्यासको तस्वीर सार्वजनिक गरिएको छ ।
मे २०२० देखि भारतीय र चिनियाँ सैनिकहरू लद्दाख सीमामा आमनेसामनेको स्थितिमा छन् । दुवै पक्षले ५० हजारभन्दा बढी सैनिक त्यहाँ तैनाथ गरेका छन् । अहिलेसम्म दुवै सेनाबीच १२ चरणमा वार्ता भइसकेको छ तर समस्या समाधान हुन सकेको छैन ।
