चामुण्डाबिन्द्रासैनी नगरपालिकाको १८औँ हिउँदे नगर अधिवेशन सम्पन्न
दैलेख, ११ पुस २०८२। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाको १८औँ नगरसभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको छ। नगरपालिकाको १७औँ नगरसभाबाट विनियोजित बजेट र स्वीकृत योजनाहरूको कार्यान्वयनलाई केन्द्रमा राख्दै सम्पन्न अधिवेशनले विनियोजन विधेयक, आर्थिक कार्यविधि लगायत आवश्यक संशोधित योजना तथा कार्यक्रमहरू पारित गरेको छ।
विगतका नगरसभाहरूझैँ यसपटकको अधिवेशन पनि पूर्णतः विवादरहित रूपमा सम्पन्न भएको नगरपालिकाले जनाएको छ। अघिल्लो नगरसभाबाट पारित योजनाहरूलाई स्थानीय आवश्यकता र प्राथमिकताको आधारमा संशोधन गर्दै कार्यान्वयन प्रक्रियालाई प्रभावकारी बनाउने उद्देश्यले विभिन्न निर्णयहरू गरिएको हो। १८औँ अधिवेशनलाई हिउँदे नगरसभाका रूपमा सञ्चालन गरिएको थियो।
नगरसभा तथा अधिवेशनको क्रममा चामुण्डाबिन्द्रासैनी नगरपालिका कार्यपालिका अन्तर्गत गठन भएका समिति तथा उपसमितिहरूले चालु आर्थिक वर्षको पहिलो ६ महिनाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। ती प्रतिवेदनमाथि नगरसभा सदस्यहरूले उठाएका प्रश्न, सुझाव र जिज्ञासाहरूको नगर प्रमुख गणेश कुमार शाहीले स्पष्टिकरण तथा सहजीकरण गर्नुभएको थियो। छलफलपछि प्रस्तुत सबै प्रतिवेदनहरू नगरसभाबाट सर्वसम्मत रूपमा पारित गरिएका छन्।
नगरसभामा नगर उपप्रमुख मनसरा कुमारी शर्माले संशोधित विनियोजित बजेट प्रस्तुत गर्दै आर्थिक विनियोजन विधेयक र संशोधित बजेट नगरसभा समक्ष पेश गर्नुभएको थियो।
नगरसभा सम्पन्न भएपछि प्रतिक्रिया दिँदै चामुण्डाबिन्द्रासैनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले नगरसभा विगतकै निरन्तरतामा विवादरहित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको बताउनुभयो। उहाँले अघिल्लो कार्यकालका उपलब्धिहरूको समीक्षा गर्दै आगामी दिनहरूमा समृद्ध, उत्तरदायी र विकासमुखी नगरपालिका निर्माणका लागि सम्पूर्ण नगरसभा एकमतका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो
