दैलेखमा वर्चस्व जमाउँदै एकीकृत समाजवादी
दैलेखमा २७ जना जनप्रतिनिधिले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन्। शुक्रवार जिल्ला निर्वाचन कार्यालयमा पुगेर उनीहरूले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन्।
११ वटा स्थानीय तह रहेको दैलेखमा पहिलो दिन २७ जनप्रतिनिधिले एकीकृत समाजवादी पार्टीमा सनाखत गरे। कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका एकीकृत समाजवादीका नेता अम्मरबहादुर थापाले अझै ५० भन्दा बढी जनप्रतिनिधिहरू समाजवादीमा खुल्ने दाबी गरे।
२०७४ को स्थानीय तह निर्वाचनमा दैलेखका ११ स्थानीय तहमा ७ वटा स्थानीय तह जितेको थियो। जिल्लाका ११ स्थानीय तहका ९० वडा मध्ये ५३ वटा वडाहरूमा वडाध्यक्ष सहित सबैजसो वडा सदस्यमा एमालेले जितेको थियो।
चामुण्डाबिन्द्रासैनी नगरपालिकाका उपप्रमुख तारा शाही खत्री, नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्ल, भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा पनि समाजवादीमा खुलिसकेका छन्।
