किन सुध्रिदैनन ओली ?
काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष केपी शर्मा ओली नसुध्रिएकै कारण पार्टी छाड्नुपरेको बताएका छन्। शुक्रवार अपराह्न पार्टी केन्द्रीय कार्यालय थापाथली हाइटमा लिखित राजीनामा पत्र बुझाउँदै गौतमले अब ओलीसँग व्यक्तिगत सम्बन्ध मात्रै बाँकी रहेको बताएका छन्।
उनले ओलीले नवौं महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशालाई पनि ओलीले पालना नगरेको आरोप लगाएका छन्। ‘नवौं महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशालाई तपाईंले पालना गर्नु भएन। एमाले र माओवादी केन्द्रको साझा घोषणालाई पनि प्रधानमन्त्री भएपछि लागु गर्नु भएन,’ उनले भनेका छन्, ‘तपाईं प्रधानमन्त्री भएपछि आफ्नो कार्यकालभरि त्यसलाई लागु गर्नु भएन। तपाईंले गर्नु भएका कतिपय कामलाई पटक पटक सर्वोच्च अदालतको संवैधानिक इजलासले असंवैधानिक भन्दा पनि तपाईंले आफूलाई सुधार गर्न सक्नु भएन।’
उनले ओलीमाथि जनताको बहुदलीय जनवाद र जननेता मदन भण्डारीको विचार र मान्यता विपरीत ‘संविधानको सर्वोच्चता र कानुनी राज्यको सिद्धान्तलाई पालना नगरेको पनि आरोप लगाएका छन्। ‘जननेता मदन भण्डारीका नवीन सोच ‘कम्युनिस्ट पार्टीले जनताको जनादेशको आधारमा राज्यसत्ता सञ्चालन गर्नुपर्छ’ भन्ने मान्यता विपरीत चल्नु भयो,’ गौतमले ओलीमाथि आरोप लगाउँदै भनेका छन्।
गौतमले ओलीलाई झण्डै दुई तिहाइ जनताको जनदेशलाई लत्याउँदै दुई दुई पटक प्रतिनिधिसभा विघटन गरेको आरोप पनि लगाएका छन्। ‘कम्युनिस्ट पार्टीले जनताको जनादेशको आधारमा राज्यसत्ता सञ्चालन गर्नुपर्छ भन्ने मान्यता विपरित जनताको अत्यधिक बहुमत झण्डै दुई तिहाइ जनदेशलाई लोत्याउँदै दुई दुई पटक संविधान विपरीत जनताद्वारा निर्वाचित संसद् भंग गर्नुभयो,’ गौतमले ओलीलाई लेखेको पत्रमा भनिएको छ, ‘तपाईं अध्यक्ष र प्रधानमन्त्री भएपछि पार्टीको राजनीतिक कार्यदिशा, पार्टीको विधान तथा पार्टीको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता र सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारीलाई पालना गर्नुभएन।’
उनले पार्टीलाई लोकप्रिय बनाउन आफूले दिएका सुझावलाई पनि ओलीले लत्याएको आरोप लगाएका छन्। ‘पार्टीलाई लोकप्रिय बनाउन सरकार गठनको एक वर्षपछि मैले लिखित सुझाव दिएको थिएँ’, उनले राजीनामा पत्रमा भनेका छन्, ‘तपाईंको कार्यशैली जनमुखी बनाउन धेरै पटक व्यक्तिगत रुपमा सुझावहरू पनि दिएको थिएँ। तर तपाईं सुध्रिनुभन्दा अझ बढी व्यक्तिवादी र स्वेच्छाचारी बन्दै जानुभयो।’
गौतमले आफू स्वेच्छाचारी बनेर नेताहरूमाथि मनपरी कारबाही चलाएको पनि आरोप लगाएका छन्। ‘आफ्ना समकक्षी कमरेडहरूलाई समेत तपाईंले अवलम्बन गर्नु भएका नीति र विचार अनुसार नचल्दा एकपछि अर्को गरी अपमान गर्ने, कारबाही गर्ने र पार्टीबाट निष्कासनसमेत गर्ने जस्ता स्वेच्छाचारी तथा निरंकुश प्रवृत्ति र शैली अंगाल्नु भयो,’ गौतमले अगाडि भनेका छन्, ‘त्यति मात्रै होइन, तपाईंले सम्माननीय राष्ट्रपतिलाई समेत आफ्ना स्वेच्छाचारी तथा सर्वसत्तावादी नीति र निर्णयहरू कार्यान्वयन गर्न दुरुपयोग गर्नुभयो।’
उनले आफूसमेत लागेर बनाएको पार्टी एमालेमा ओलीकै कारण बस्न नसकेको पनि बताएका छन्। ‘म आफैं संलग्न भएर निर्माण भएको नेकपा एमालेमा तपाईंकै गलत विचार, प्रवृत्ति र शैलीका कारण रहिरहन असमर्थ भएकोले आजको मितिमा पार्टीको उपाध्यक्ष पद र पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएको छु,’ उनले भनेका छन्, ‘फेरि पनि तपाज्ञईंसँगको चार दशक लामो मित्रताका कारण अब उप्रान्त हामी दुईबीच व्यक्तिगत सम्बन्ध मित्रतापूर्ण रहोस् भन्न अपेक्षा छ।’

