एकीकृत समाजवादीको कर्णाली प्रदेश इञ्चार्जमा प्रकाश ज्वाला
सुर्खेत । नेकपा एकीकृत समाजवादीले ६ वटा प्रदेशको इन्चार्ज तोकेको छ ।
शनिवार बसेको स्थायी कमिटीको बैठकले प्रदेशको इन्चार्ज तोक्नुका साथै नेताहरुको जिम्मेवारी विभाजन गरिएको नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले जानकारी दिए ।
नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बनाएको छ । जसमा बेदुराम भुषाल, प्रमेश हमाल, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, जयन्त राई र जीवनराम श्रेष्ठ सदस्य रहेका छन् ।
केन्द्रीय सचिवालयको बैठक आज दिउँसो ३ बजेको लागि बोलाइएको छ ।
नेकपा एकीकृत समाजवादीले प्रदेश १ को इन्चार्जमा घनेन्द्र बस्नेत, प्रदेश–२ माधर्मनाथ साह, बागमतीमा केदार न्यौपाने, गण्डकीमा केशवलाल श्रेष्ठ, लुम्बिनीमा भागवत विश्वासी र कर्णालीमा प्रकाश ज्वाला इन्चार्ज तोकिएका छन् ।
सुदुरपश्चिम प्रदेशको इन्चार्ज भने तोक्न बाकी रहेको नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले बताए ।
नेकपा एकीकृत समाजवादीले उपत्यका विशेष प्रदेश कमिटीमा विश्वनाथ प्याकुरेल, सम्पर्क विशेष प्रदेश कमिटीमा विजय गुरूङ, मोर्चा इन्चार्जमा डा। विजय पौडेल, प्रचार विभागमा जगन्नाथ खतिवडा र प्रवास क्षेत्रको इन्चार्जमा श्रीप्रसाद साहलाई जिम्मेवारी तोकेको छ ।
उक्त पार्टीले नेता झलनाथ खनालको संयोजकत्वमा दस्तावेज मस्यौदा समिति पनि बनाएको छ । जसमा बेदुराम भुषाल, राजेन्द्र पाण्डे, प्रमेश हमाल, गंगालाल तुलाधर, विजय पौडेल, प्रकाश ज्वाला, जगन्नाथ खतिवडा, केशवलाल श्रेष्ठ, सावित्रा भुषाल, रामकुमारी झाँक्री, राजेन्द्र राई र गणेश विक सदस्य रहेका छन् ।
दस्तावेज मस्यौदा समितिले पार्टीको राष्ट्रिय सम्मेलनमा पेश हुने दस्तावेज तयार गर्ने जिम्मेवारी पाएको छ ।
